मकवानपुर, असोज ५ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले जननेता मदनकुमार भण्डारीका विचारलाई समय र परिस्थितिअनुसार सिर्जनात्मक रूपमा विकास गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ । मदन भण्डारीको हीरक जयन्ती तथा मदन भण्डारी फाउन्डेसनको २७औँ स्थापना दिवसका अवसरमा सोमबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख देवकोटाले मदन भण्डारीको राजनीतिक जीवन केवल व्यक्तिको जीवनकथा नभई नेपालको लोकतान्त्रिक तथा वाम आन्दोलनमा बहस, समयगतिशीलता र जनसम्बन्धलाई नयाँ आयाम दिने महत्वपूर्ण अध्याय भएको बताउनुभयो ।
उहाँले मदन भण्डारीले उठाउनुभएको स्पष्ट विचार, जनतासँगको सम्बन्ध, राष्ट्रप्रतिको जिम्मेवारी र राजनीतिक संस्कार आज पनि सान्दर्भिक रहेको उल्लेख गर्नुभयो । जननेता भण्डारीले नेपाली राजनीतिक चिन्तनमा जोडिएको जनताको बहुदलीय जनवादले लोकतन्त्र, जनसहभागिता, सामाजिक न्याय र समयसापेक्ष परिवर्तनका विषयलाई अघि बढाएको उहाँको भनाइ थियो ।
प्रदेश प्रमुख देवकोटाले अहिले समाज तीव्र परिवर्तनको चरणमा रहेको भन्दै सूचना र प्रविधिले मानिसलाई नयाँ धारमा लगे पनि सामाजिक दूरी, रोजगारी तथा अवसरका चुनौतीसमेत बढिरहेको बताउनुभयो । नागरिकमा राजनीतिक चेतना बढ्दै गए पनि सुशासन, जवाफदेहिता र परिणामप्रतिको अपेक्षा अझ उच्च भएको उहाँले उल्लेख गर्नुभयो । मदन भण्डारीको अभाव कहिल्यै पूरा हुन नसक्ने उल्लेख गर्दै प्रदेश प्रमुख देवकोटाले उहाँको विचारको अध्ययन, सिर्जनात्मक विकास र व्यवहारमा कार्यान्वयन नै सच्चा सम्मान हुने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवम् हीरक जयन्ती समारोहका राष्ट्रिय संयोजक डोरमणि पौडेलले मदन भण्डारीको सिद्धान्त र विचारलाई जनस्तरसम्म पु¥याउने उदेश्यका साथ वर्षभरि नै हीरक जयन्तीका अवसरमा विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो । कार्यक्रममा पूर्व सांसद एवम् एमाले नेता केदार न्यौपाने, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, गैरसरकारी संस्था (गैसस) महासंघ बागमती प्रदेशका अध्यक्ष कमल कुमार विश्वकर्मालगायतले जननेता मदन भण्डारीको विचार र योगदानबारे चर्चा गर्नुभयो । कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनकी योद्धा तील कुमारी ढकाललाई नगद सम्मानित गरियो थियो ।












