हेटौँडा, २२ जेठ । हेटौँडा–९, स्थित प्रगति माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्व छनोटका लागि आज भएको निर्वाचनबाट स्कुल क्याप्टेनमा कक्षा ९ मा अध्यनरत छात्र सरोज लामा निर्वाचित हुनुभएको छ । यस्तै स्कूल भाइस क्याप्टेनमा कक्षा १० मा अध्यनरत छात्रा आश्रिका कार्की निर्वाचित हुनुभएको हो ।
आज सम्पन्न निर्वाचनबाट लामा १३१ मत प्राप्त गरी स्कुल क्याप्टेनमा र कार्की ८८ मतका साथ भाइस क्याप्टेनमा निर्वाचित हुनुभएको मतदान अधिकृत माधव प्रसाद गौतमले बताउनुभयो । गौतमका अनुसार निर्वाचनमा कक्षा ६ देखि १० सम्मका कुल ६०० मतदातामध्ये ५५० मत खसेको थियो । करिब १ हजार ४ सय विद्यार्थी अध्ययनरत रहेको प्रगति माविमा स्कुल क्याप्टेनका लागि कक्षा ९ र १० का ८ जना विद्यार्थीहरू चुनावी मैदानमा उत्रिएका थिए । उनिहरुलाई उछिन्दै लामा र कार्की क्याप्टेन र भाईस क्याप्टेन बन्नु भएको हो ।
विद्यालय तहदेखि नै विद्यार्थीहरूमा लोकतान्त्रिक पद्धति, नेतृत्व विकास र चुनावी प्रक्रियाबारे व्यावहारिक ज्ञान दिलाउने उद्देश्यले विद्यालयमा स्कूल क्याप्टेन, स्कूल भाइस क्याप्टेन, हाउस क्याप्टेन र हाउस भाइस क्याप्टेन पदका लागि निर्वाचन निर्वाचन गराईएको थियो । जसमा विद्यालयका विभिन्न चारवटा सदन (हाउस) हरूको नेतृत्वका लागि पनि निर्वाचन भएको थियो ।
गौतमका अनुसार निर्वाचनमा रेड हाउस (रातो सदन) को क्याप्टेन पदमा कक्षा १० की प्राप्ती लामा (३६ मत) र सह–क्याप्टेनमा कक्षा ९ का पुरुषोत्तम चौधरी (२३ मत) सहित विजयी हुनुभएको छ । यस सदनमा कुल ९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । यस्तै ब्लु हाउस (निलो सदन) को क्याप्टेन पदमा कक्षा ८ का अन्जित घलान (५५ मत) र सह–क्याप्टेनमा कक्षा ८ की खुशी कुमारी (२० मत) सहित निर्वाचित हुनुभएको छ । यस सदनमा पनि ९ जना चुनावी मैदानमा थिए ।
यस्तै ग्रिन हाउस (हरियो सदन) को क्याप्टेन पदमा कक्षा ९ की समृद्धि विश्वकर्मा (३४ मत) र सह–क्याप्टेनमा कक्षा ९ का अविनास पासवान (२४ मत) विजयी हुनुभएको छ । यस सदनमा ६ जना उम्मेदवार बन्नु भएको थियो । भने यल्लो हाउस (पहेंलो सदन) को क्याप्टेन पदमा कक्षा १० का समन थिङ (४३ मत) र सह–क्याप्टेनमा कक्षा ८ की अनुस्का तिवारी (१२ मत) विजयी हुनुभएको छ । यस सदनमा ८ जना चुनावी प्रतिस्पर्धामा हुनु हुन्थ्यो । विद्यार्थीहरूलाई लोकतान्त्रिक अभ्यासमा सहभागी गराउन यो निर्वाचन महत्त्वपूर्ण माध्यम बनेको छ र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीले बताउनुभयो ।