मकवानपुर, २९ बैशाख । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा मकवानपुर जिल्लाका चारवटा विद्यालयको नतिजा शून्य भएको छ । सोमबार सार्वजनिक नतिजा अनुसार जिल्लाका चारवटा सामुदायिक विद्यालयको नतिजा शून्य भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।
कार्यालयका अनुसार राक्सिराङ गाउँपालिकाका ३ वटा विद्यालय र भीमफेदी गाउँपालिकाका १ विद्यालयबाट कुनै पनि विद्यार्थी उत्तीर्ण हुन नसकेका हुन् । राक्सिराङ गाउँपालिकाका ३ विद्यालय (कालिका मावि, राष्ट्रिय मावि र माध्यमिक विद्यालय) तथा भीमफेदीको पञ्चकन्या माविको नतिजा शून्य आएको हो । यी चार विद्यालयबाट परीक्षामा सामेल ५६ जना विद्यार्थीमध्ये एक जना पनि उत्तीर्ण हुन नसकेका हुन् ।
कालिका माविबाट १ जना, राष्ट्रिय मावि २७ जना र माध्यमिक विद्यालयबाट २८ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए । पञ्चकन्या माध्यमिक विद्यालयबाट भने ६ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए । गत वर्ष जिल्लाका ७ वटा विद्यालयको नतिजा शून्य आएकोमा यसपटक सो संख्या ४ मा झरेको छ ।
त्यस्तै मकवानपुरमा यो वर्ष ६ वटा संस्थागत विद्यालयको नतिजा शतप्रतिशत रहेको छ । यो वर्ष हेटौँडा उपमहानगरपालिकाका ३ र थाहा नगरपालिकाका ३ विद्यालयले शतप्रतिशत नतिजा ल्याएका छन् । हेटौँडा–२ को बालजागृतिबाट १०२ जना, तुलसीमेहरबाट ६१ र ज्ञानोदयबाट १६ जना विद्यार्थी सहभागी भएकोमा सबै उत्तीर्ण भएका छन् । यस्तै, थाहा नगरपालिका स्थित पालुङ भ्याली (१९ विद्यार्थी), पालुङ मोडर्न (१३ विद्यार्थी) र पालुङ इंग्लिस (७ विद्यार्थी) ले पनि शतप्रतिशत सफलता पाएका छन् ।
जिल्लाको समग्र नतिजा हेर्दा ५०.९९ प्रतिशत विद्यार्थी मात्र ’ग्रेडेड’ भएका छन् । परीक्षामा सहभागी कुल ५ हजार ५ सय २७ विद्यार्थीमध्ये २ हजार ८ सय १८ जना उत्तीर्ण हुँदा २ हजार ७ सय ९ जना विद्यार्थी ’नन् ग्रेडेड’ (अनुत्तीर्ण) भएका छन् । यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले विगतभन्दा छिटो नतिजा सार्वजनिक भएको हो ।











