मकवानपुर, चैत्र २३ । मकवानपुर प्रहरीले लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने यात्रुवाहक सवारीसाधनका १२ जना चालकलाई आज पक्राउ गरेको छ । मकवानपुर प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘इउभचबतष्यल म्चयउ’ अन्तर्गत लागूऔषध सेवन गरी सवारी साधन चलाउने १२ जना चालकहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी गाउँपालिका अन्तर्गत सडक खण्डमा गरेको आकस्मिक चेकजाँच गरेको थियो । ६५ वटा सवारी जाँच गरिएकोमा १२ जना चालकले लागूऔषध सेवन (लापसे) गरी सवारी चलाएको पुष्टि भएकोले उनिहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
लागूऔषध सेवन गरी सवारी चलाउँदा सडक दुर्घटनाको जोखिम अत्यधिक बढ्ने त्यसलाई नियन्त्रण गर्न चेकजाँच गरिएको उहाँले बताउनुभयो । सडक सुरक्षालाई मध्यनजर गर्दै आगामी दिनमा पनि यस्ता चेकजाँचलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।