फाइल फाेटाे

हेटाैंडा, चैत्र १९ । देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु हुँदैछ । यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । ती मध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य छन् । जापानको एभरेस्ट स्कुलसहित एक हजार ९६६ परीक्षा केन्द्रमा एसईई हुनेछ । नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिन लागेका हुन् ।
परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ । कार्यालयका अनुसार परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी झण्डै ७३ हजार जनशक्ति परिचालन गरिएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा आउँदो २९ गते सकिनेछ । परीक्षा हलमा मोबाइल फोन, स्मार्ट घडी, विद्युतीय उपकरणलगायत प्रयोग गर्न पाइनेछैन ।
यस वर्ष परीक्षालाई थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ । उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने गृहकार्य भइरहेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र परीक्षण सम्पन्न गरिसक्ने योजना छ । उत्तरपुस्तिका परीक्षक र संपरीक्षकलाई परीक्षण केन्द्रमा नै रहेर परीक्षण गर्न भनिएको छ ।
परीक्षण केन्द्र रहेको विद्यालय भवनको सम्भव भएसम्म सिसिटिभी जडान भएको सुरक्षित कक्षमा परीक्षण र संपरीक्षण गराउने व्यवस्था गरिएको छ भने परीक्षण केन्द्रबाट उत्तरपुस्तिका बाहिर लैजाने, तोकिएका परीक्षकको सट्टामा अन्यले परीक्षण गर्ने, तोकिएको योग्यता नपुगेका शिक्षकले परीक्षण गर्ने, उत्तरपुस्तिकाको पोका हराउन वा मिसिन सक्ने जस्ता अनियमितता रोक्ने प्रबन्ध गरिएको छ ।
यस्तै, यस वर्ष एसईई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ । अनुगमनका लागि हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ । आज अनिवार्य अङ्ग्रेजी, भोलि चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा हुनेछ ।