कोरोना विरुद्धका खोप केन्द्रहरूमा जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा।डा जागेश्वर गौतमले अनुसन्धानका क्रममा २५ प्रतिशत खोप केन्द्रमा मास्क प्रयोग नभएको पाइएकोले सबै खोप सञ्चालन केन्द्रहरूलाई आवश्यक मास्क प्रयोग गर्न, गराउन र जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न अनुरोध गर्नुभयो ।
यस्तै, हालसम्म लक्षित समूहमा परेका ७० प्रतिशतले कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएको प्रा।डा गौतमले जानकारी दिनुभयो । प्रा.डा गौतमले खोप अभियानको प्राथमिकतामा परेका १६ लाख ५ हजार ७ सय ६ जनाले खोप लगाइसकेको जानकारी गराउनुभयो । यस्तै, नेपालमा आज थप १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर २ हजार ७ सय ९० वटा नमूनाको परिक्षण गर्दा १ सय १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको छ । यस्तै आज ९४ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ७१ हजार ४ सय ९५ पुगेको छ ।