हेटौँडा, फागुन २४ । मकवानपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश गौतम भारी मतान्तरसहित विजयी हुनु भएकाे छ । हेटौंडा उपमहानगरपालिका–५ निवासी ३७ वर्षीय गौतमले ३६ हजार ३३ मत प्राप्त गर्दै विजयी हुनुभएकाे निर्वाचन कार्यालयले जनाएकाे छ ।
उहाँकाे निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ ले १४ हजार ३८ मत प्राप्त गर्नुभयाे । निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामेश्वर राना तेस्रो स्थानमा रहदै १२ हजार ७८३ मत प्राप्त गर्नुभयाे । यसैगरी, अघिल्लो निर्वाचनका विजेता राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दीपकबहादुर सिंह यसपटक छैठौं स्थानमा सीमित रहदै ४ हजार ५७४ मत मात्र प्राप्त गर्नुभयाे ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विजय गौतमले १० हजार ७८८, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २०५ तथा श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठले १ हजार २४ मत प्राप्त गर्नुभयाे । निर्वाचन आयोगका अनुसार मकवानपुर–१ मा कुल ९५ हजार ३ सय १० मत खसेको थियो ।