मकवानपुर,माघ ११ । बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य चयनका लागि आज निर्वाचन सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिनुभयो ।
भुटनदेवी मावि स्थित मतदानस्थलमा २ वटा मतदान केन्द्र राखिएका छन् । मतदानमा सहभागिहुन प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख÷उपप्रमुखहरु आउने क्रम सुरु भएको छ ।
प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुखको राजीनामापछि बागमती प्रदेशको मतदाता संख्या ३३८ कायम भएको छ । प्रदेश सभा सदस्य ६ जना र स्थानीय तहका ३ जना प्रमुखले प्रतिनिधिसभा निर्वाचनका लागि राजीनामा दिएपछि मतदाता संख्या घटेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालले बताउनुभयो ।
निर्वाचनमार्फत बागमती प्रदेशबाट एक महिलासहित दुई जना राष्ट्रिय सभा सदस्य चयन हुनेछन् । महिला समूहतर्फ कांग्रेसकी गीता देवकोटा, नेकपाकी सरोजकुमारी झा र नेमकिपाकी कविता महर्जन उम्मेदवार छन् भने अन्य समूहतर्फ एमालेका प्रेमप्रसाद दंगाल, नेकपाका प्रेमप्रसाद सापकोटा र नेमकिपाका विक्रम डुकुछे उम्मेदवार रहनु भएको छ ।
प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुखको १९ तोकिएको छ । बागमती प्रदेशको कुल मतभार ९ हजार ९५८ रहेको छ । निर्वाचन आयोगका अनुसार देशभर राष्ट्रिय सभामा रिक्त १८ सदस्यका लागि आज निर्वाचन हुँदैछ । बागमती प्रदेशमा पदावधि सकिन लागेका गंगाकुमारी बेलवासे र वेदुराम भुसालको स्थानमा नयाँ सदस्य चयन हुन लागेको हो ।











