हेटौंडा, पुस १८ । निर्वाचन आयोगले समानुपातिक सूची सच्याउन दलहरूलाई एक हप्ताको समय दिएकाे छ । दलहरूले निर्वाचन आयोगमा यसअघि बुझाएको समानुपातिकतर्फको बन्दसूची सच्याउन एक हप्ता समय पाउने भएका हुन् ।

निर्वाचन आयोगमा आज भएको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कलस्टर नमिलेको अवस्थामा आयोगले पर्सि पुस २० गतेसम्म सम्बन्धित दललाई सूचित गरिसक्ने र त्यसपछि सम्बन्धित दलको तर्फबाट पुस २१ देखि २७ गतेसम्म संशोधन गरि पेश गर्नुपर्नेछ ।
दलहरूले गएको पुस १३ र १४ गते समानुपातिकतर्फको बन्दसूची बुझाएका थिए । आयोगले बन्दसूचीमा छानबिन गरिरहेको छ । उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहनेले पुस २८ गते समय पाउनेछन् । कसैले नाम फिर्ता लिएमा आयोगले त्यसबारेको जानकारी सम्बन्धित दललाई पुस २९ गते दिइनेछ ।
उम्मेदवारले नाम फिर्ता लिँदा रिक्त हुन आएको ठाउँमा त्यही समूहको अर्को उम्मेदवारको मनोनयन गरि मनोनीत उम्मेदवारको नामावली सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्ने समय पुस ३० गतेका लागि तोकिएको छ । त्यसपछि प्राप्त उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।











