मकवानपुर, ०८ पुस । नेपाल उद्यान (पार्क) महासंघको प्रथम महाधिवेशनको तयारीका सन्दर्भमा मंगलबार हेटौंडामा छलफल भएको छ । आगामी पुष २५ र २६ गते बुटबलमा आयोजना हुने प्रथम महाधिवेशनका सन्दर्भमा छलफल भएको हो ।

“प्राकृतिक संरक्षण र सुन्दरताहाम्रो पहिचान पर्यटन प्रबद्र्धन र समृद्धिको लागि” भन्ने नाराका साथ आगामी पुष २५ र २६ गते महाधिवेशन आयोजना हुन लागेको महासंघका उपाध्यक्ष रघुनाथ खुलालले बताउनुभयो । देशभरका उद्यान (पार्क) उद्यानहरूको व्यवस्थापन र सञ्चालनमा देखापरेका समस्याहरूको समाधान गर्दै संस्थागत विकास गरी एकताबद्घ पहल गर्ने उद्देश्यसहित महासंघ दर्ता भएको हो । महासंघले उद्यानहरूको संरक्षण, संवद्र्धन र विकास गर्ने लक्ष्य लिएको छ । यसअघि २०८० सालमा बुटवलमा आयोजना भएको प्रथम पार्क सम्मेलनबाट गठित समितिले महासंघ दर्ता गरि अहिले प्रथम महाधिवेशन आयोजना गर्न लागेको हो ।

उद्यानहरूको दर्ता, व्यवस्थापन तथा सञ्चालनसम्बन्धी एकीकृत राष्ट्रिय नीति तथा कानून निर्माण नहुँदा सबै प्रकारका वनअन्तर्गत रहेका उद्यानहरूलाई दीर्घकालीन उपयोग, स्वामित्व हस्तान्तरण लगायत समस्याहरु रहि आएका छन् । यसै सन्दर्भमा मकवानपुरमा पनि धेरै उद्यानहरु संचालनमा रहेको तर, विभिन्न कारणले व्यवस्थित संचालन हुन नसकिरहेको हुँदा महासंघ मार्फत साझा धारणा बनाउन पनि छाता संगठन दर्ता भई पहिलो महाधिवेशन आयोजना गर्न लागिएको महासंघका अध्यक्ष खेम प्रसाद लुईटलले बताउनुभयो ।
छलफलमा भाग लिनु हुँदै बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् महासंघका सल्लाहाकार डोरमणि पौडेलले उद्यानहरु व्यवस्थित रुपमा सञ्चालन हुनु पर्ने हुँदा एकताद्द हुन आवश्यक रहेको बताउनुभयो । छलफलमा महासंघका सदस्य एवम् पदाधिकारीहरु, मकवानपुरका विभिन्न उद्यानका अध्यक्ष एवम् प्रतिनिधिहरुलगायतको सहभागिता थियो ।












