मकवानपुर– बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले मानवियताको देश निर्माणमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ । मकवानपुर जिल्लालाई “सहयोगापेक्षी मानव मुक्त जिल्ला” घोषणा गरेको ऐतीहासिक घोषणा दिवस तथा आश्रमको केन्द्रिय कार्यालय हेटौंडामा आश्रितहरुलाई नवनिर्मित भवनमा गृह प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रसाईले सभ्य समाज र मानवियताको देश निर्माणमा जुट्न सबैमा आग्रह गर्नुभएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा अघिल्लो वर्ष फागुन ४ गते नै मकवानपुरलाई सहयोगापेक्षी मानव मुक्त जिल्ला घोषणा गरिएको थियो । घोषणा दिवश कार्यक्रममा प्रमुख प्रसाईले सभ्य समाज निर्माणका लागि असल समाज र असल समाजबाटै समृद्धि प्राप्त गर्न सकिने हुनाले मानवियताको देश निर्माणमा सबैले अपनत्व लिनुपर्ने बताउनुभयो । मानव सेवा आश्रमलमा आएर चार धाम पुग्ने ईच्छा पुरा भए जस्तो भएको भन्दै प्रमुख प्रसाईले मानवसेवा नै सबै धर्मको सार भएको समेत बताउनुभएको छ । उहाँले भन्नुभयो–“चार धाम घुम्ने रहर थियो, आज त्यो मेटियो, मैले मानव सेवा आश्रममा चार धाम भेंटे ।” उहाँले मानव सेवाको कामलाई निरन्तरता दिन समेत आग्रह गर्दै प्रमुख प्रसाईले यस्तो पवित्र काममा संघ, प्रदेश र स्थानिय सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँले मानव सेवाको काममा निरन्तर लागि पर्ने सम्पुर्णलाई धन्यवाद समेत व्यक्त गर्नुभयो । मानविय काम गर्ने माहामानव हुन भन्दै प्रमुख प्रसाईले उनिहरुको जति सम्मान गरे पनि कम हुने बताउनुभयो । कार्यक्रमकै अवसरमा प्रदेश प्रमुख प्रसाईले आफ्नो पारिश्रमिकबाट प्रत्येक महिना मानव सेवा आश्रमलाई ५१ सय रुपैयाँ उपलब्ध गराउने घोषणा समेत गर्नुभयो ।

भाडाको घरमा मागेर समेत खान समेत नसक्ने अशक्त, अनाथ, अपाङ, असहाय एवम् मानसिक सन्तुलन गुमाई सडकका पेटीहरूमा बेवारिसे जिवन जिउन बाध्य भएकाहरुलाई आश्रय दिईरहेको मानव सेवा आश्रमको हेटौंडा–९ स्थित मयुर धापमा आप्नै भवन निर्माण सम्पन्न भएको छ । सोहि भवनमा आज ऐतिहासिक जिल्ला घोषणा दिवशको अवसर पारेर गृह प्रवेश गराईएको हो । ६० कोठा बराबर २ सय क्षमता रहेको आश्रमको भवन निर्माणका लागि हाल सम्म करीब ७ करोड खर्च भईसकेको र अझै अन्तिम रुप दिन १ करोड खर्च लाग्ने अनुमान गरिएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । हेटौंडामा दुई स्थानमा संचारलनमा रहेको आश्रममा हाल १४५ जनाले सेवा लिर्ईरहेको समेत उहाँले बताउनुभएको छ ।

२०८२ सम्ममा देशलाई नै सहयोगापेक्षी सडक मानव मुक्त घोषणा गर्ने अभियनमा लागेको मानव सेवा आश्रमले हाल केन्द्रिय कार्यालय हेटौंडा सहित देशका ७ प्रदेशका १४ जिल्लामा १९ वटा शाखा मार्फत सेवा प्रदान गरिरहेको छ । ती आश्रमहरुबाट हाल सम्म करीब ३ हजारको उद्धार गरिएको, १३ सय जनालाई पारिवारीक पुनर्मिलन गराईएको, १७६ जनालाई अन्य स्थानमा स्थानान्तरण गरिएको, ३२४ जनाको आश्रममै सेवाका क्रममा देहवशान भएको र हाल ११०० जनालाई सेवा प्रदान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको ऐतिहासिक सहयोगापेक्षी मानव मुक्त जिल्ला घोषणा दिवश तथा गृह प्रवेश कार्यक्रममा प्रदेश सभा सदस्य मुनु सिग्देल, प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ, आश्रमका प्रमुख संरक्षक गोविन्द टण्डन, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, ब्रम्हकुमारी राज योग सेवा केन्द्र हेटौंडाका बिजयराज सिग्देललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जिवन लामा, मध्य पृतना हेडक्वाटर हेटौंडाका सहयक पृतनापति अनुप जंग थापा, हेटौंडाका विभिन्न वडाका वडाअध्यक्षहरु, सुरक्षाकर्मीलगायत विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिको उपस्थिती थियो ।