सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरेका तर काम नगरेर वर्षोंदेखि अलपत्र पारेका दुई सय ३४ वटा रुग्ण ठेक्का तोडिने भएको छ । सडक विभागअन्तर्गत सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालयहरु, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान् घिसिङको सचिवालयले जनाएको छ ।
सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत ३८, काठमाण्डाै ७५, पोखरा ३९, सुर्खेत ४९, हुलाकी १६ र मध्यपाडी लोकमार्गका १७ वटा ठेक्का रुग्ण छन् । यस्तै आयोजनाकातर्फबाट गर्नुपर्ने काम नगरी ठेक्कालाई रुग्ण बनाउन संलग्न तत्कालीन एवम् अहिलेका जिम्मेवार कर्मचारीलाई छानविन गर्न समिति बनाउने मन्त्री घिसिङले बताउनुभएको छ । रुग्ण ठेक्का तोडिएमा कम रकम कबोल गरी ठेक्का सम्झौता गर्ने र परिचालन पेश्की लिएर काम नगर्ने प्रवृतिकोसमेत अन्त्य हुने मन्त्री घिसिङले उल्लेख गर्नुभयो ।