हेटौंडा, असोज ५ । मदन भण्डारी फाउन्डेसनको २६औं स्थापना दिवश हेटौंडामा आईतबार विशेष कार्यक्रमका साथ मनाईएको छ । फाउन्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा फाउन्डेसनको २६औं स्थापना दिवश मनाईएको हो ।

जननेता मदन भण्डारीद्धारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवाद (जवज) लाई समृद्ध एवम् जनमानसमा स्थापित गर्ने साथै जननेताको योगदानलाई चिर स्थायी बनाईराख्ने उदेश्यका साथ २०५६ असोज ५ गते मदन भण्डारी अध्यायन तथा अनुसन्धान केन्द्रको रुपमा स्थापना भएको संस्था आजबाट २६औं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवशका अवसरमा आज फाउन्डेसन मकवानपुरले समसामयिक विषयमा छलफलसहित मदन भण्डारीको योगदानका विषयमा चर्चा गरेर दिवश मनाएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) का केन्द्रीय सदस्य केदार न्यौपानेले “दिमागलाई शान्त बनाएर शून्यबाट आत्मसमिक्षा गर्दै अघि बढ्नुपर्ने” आवश्यकता औँल्याउनुभयो । उहाँले अहिले भर्खरै भएको जेनजी आन्दोलनका विषयमा आत्मसमिक्षा गर्दै अगाडी बढ्नुको विकल्प नभएको बताउनुभयो । उहँँले सामाजिक न्याय, समता र समृद्ध नेपाल निर्माणमा मदन भण्डारीको योगदानको विषयमा समेत चर्चा गर्नुभएको थियो । कार्यक्रममा एमाले मकवानपुरकी सचिव सीता बिष्टले आत्मपरिवर्तन र आत्मसशक्तिकरणलाई आगामी यात्राको प्रमुख आधार बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा फाउन्डेसनका अध्यक्ष खुलालले आत्म–समिक्षा गरेर मात्र समाज र राष्ट्रलाई सबल बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले भाद्र २३ र २४ गते भएको अकल्पनीय हिंसात्मक घटनाले ठूलो जनधनको क्षति पु¥याउँदै निर्वाचित सरकारको पतन गराएको साथै जेनेरेशन–जेडको शान्तिपूर्ण आन्दोलन एकाएक अराजक बन्दै सरकारी कार्यालय, दलका भवनदेखि सर्वसाधारणको घरसमेत जलाइएपछि राज्यको भूमिका प्रश्नवाचक बनेको बताउनुभयो । उहाँले दलहरूले आत्मालोचना गर्दै संगठन पुनर्गठन, आन्तरिक लोकतन्त्र सुदृढीकरण, भ्रष्टाचार नियन्त्रण र नयाँ पुस्तालाई अवसर दिनुपर्ने बताउनुभयो ।

फाउन्डेसनले उक्त घटनाका मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको गम्भीर छानबिन गरी दोषीलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्न माग गरेको सचिव कुमार केसीले बताउनुभयो । कार्यक्रममा राजनीतिक, सामाजिक तथा शैक्षिक क्षेत्रका अग्रज तथा विभिन्न तहका व्यक्तित्वहरूको उपस्थिति रहेको उहाँले बताउनुभयो ।