साउन ३ । बसोबासको हिसाबले उत्कृष्ट शहरहरुको सूचीको पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन परेको छ । ग्लोबल लिभेबिलिटी इन्डेक्स २०२५ अनुसार अस्ट्रियाको राजधानी भिएना शहरलाई पछि पार्दै कोपनहेगन पहिलो नम्बरमा आएको हो ।

कोपनहेगन सन् २०२५ मा संसारको सबैभन्दा खुशी शहर पनि घोषणा भएको थियो । यस वर्ष दोस्रो नम्बरमा पुगेको भिएना शहर १३ वर्षदेखि लगातार यो सूचीको पहिलो नम्बरमा थियो । द इकोनोमिस्ट इन्टेलिजेन्स यूनिट (ईआईयू) ले संसारभरिका शहरहरूको वरीयताक्रमसहितको सूची तयार पार्दै आएको छ । त्यसका लागि सबैभन्दा आरामदायी र सुरक्षित शहरहरू निर्धारण गर्न विभिन्न तथ्याङ्कहरूलाई आधार मान्ने गरिन्छ ।
सूचीको तेस्रो नम्बरमा स्वीट्जरल्याण्डको ज्यूरीक, चौंथोमा अष्ट्रेलियाको मेलवर्न, पाँचौमा स्विटजरल्याण्डको जेनेभा, छैटौंमा अष्ट्रेलियाको सिड्नी, सातौंमा जापानको ओसाका, आठौंमा न्यूजिल्याण्डको अकल्याण्ड, नवौंमा अष्ट्रेलियाको अडिलेइड र दशौंमा क्यानडाको भ्यान्कुभर रहेको छ ।
जापानको ओसाका उत्कृष्ट १० मा पर्न सफल एकमात्र एशियाली देशको शहर हो । यो शहरले स्थायित्व, स्वास्थ्य सेवा र शिक्षा विधामा यसले सम्पूर्ण अङ्क प्राप्त गरेको छ । शिक्षा, स्वास्थ्य, सुरक्षा, स्थायित्व, वातावरण, भौतिक पूर्वाधार लगायत आवासका लागि हुनुपर्ने सूचकहरुका आधारमा संसारमा उत्कृष्ट शहर घोषणा गर्ने गरेको ईआईयूले जनाएको छ ।