मकवानपुर । मकवानपुरको भीमफेदी स्थित क्षेत्रीय कारागारबाट २६० जना कैदीबन्दी भागेका छन् । गएराति १२ः५५ बजे कारागारको ‘क’ ब्लकमा रहेका केदीबन्दीहरू भागेको कारागार प्रमुख सुवास पौडेलले जानकारी दिनुभयो ।
कारागार प्रमुख पौडेलका अनुसार ‘क’ ब्लकमा रहेका केदीबन्दीहरू तीन वटा गेट फुटाएर बाहिर निस्किन खोजेका थिए । गेट फुटाउन नसकेपछि कारागारको पश्चिम तर्फको पर्खाल भत्काएर २६० जना कैदीबन्दीले भागेका हुन । ब्लकमा ५ सय भन्दा बढी कैदीबन्दी रहेकोमा करिब २३० जनालाई नियन्त्रणमा लिएर फर्काइएको उहाँले बताउनुभयो ।
सुरक्षाकर्मी र कैदीबन्दीबीच राति लगातार ४ घण्टासम्म झडप भएको कारागार प्रमुख पौडेलले जानकारी दिनुभयो । झडपमा सेनाले चलाएको गोली लागेर दुई जना कैदीबन्दी घाइते भएका छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । कारागारको गाडी लिएर भाग्ने क्रममा टायरमा गोली चलाउँदा कैदीबन्दीलाई लाग्न पुगेको पौडेलले बताउनुभयो ।
कैदीबन्दीहरूले कारागारमा तोडफोड र आगजनी समेत गरेका छन् । सेनाले स्थिति नियन्त्रणमा लिन २०० हवाई फायर गरेको थियो । सशस्त्र प्रहरीले पनि २ राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । कारागारको अर्काे ‘ख’ ब्लक भने सुरक्षित रहेको कारागार प्रशासनले जनाएको छ ।











