हेटौंडा । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै भ्रष्टाचार र अव्यवस्थाविरुद्ध नयाँ पुस्ताका युवाहरुले काठमाण्डौको माइतीघरमा प्रदर्शन गरेका छन् । ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘भ्रष्टाचार रोक’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनको क्रममा सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने तथा नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने उनीहरुले प्रतिबद्धता समेत जनाएका छन् । प्रदर्शनमा राजनीतिक दल निकटका भ्रातृ सङ्घसङ्गठनहरुलाई रोक लगाइएको छ । प्रदर्शन गरिरहेका युवाहरुमध्ये कतिपय स्कूल, कलेजको ड्रेसमै उपस्थित भएका छन् । जेनजी अर्थात् सन् १९९७ देखि २०१२ भित्र जन्मिएका २८ वर्षमुनिका युवा पुस्ताहरुले स्वतः स्फूर्त रूपमा प्रदर्शन गरेका हुन् । काठमाण्डौ उपत्यकाबाहिरका विभिन्न शहरहरुमा पनि युवा पुस्ताले प्रदर्शन गरेका छन् ।

विभिन्न व्यक्ति र समूहहरुलेसमेत ऐक्यबद्धता जनाएका कारण प्रदर्शनमा ‘घुसपैठ’ हुनसक्ने भन्दै प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेपछि ‘जेनजी’ पुस्ताले स्वतःस्फूर्त रूपमा प्रदर्शन गरेका हुन् । उनीहरुले भ्रष्टाचार अन्त्यसहितका विषयलाई मुख्य नारा बनाएका छन् ।