मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले चेपाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व न्वागी (छोनाम)को अवसरमा तीन दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले सूचना जारी गर्दै चेपाङ समुदायको पर्व न्वागीको अवसरमा भदौ २१,२२ र २३ गते तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै चेपाङ समुदायको बाहुल्य रहेकाले न्वागीका अवसरमा सम्पूर्ण गाउँपालिका क्षेत्रमा रहेका सरकारी कार्यालय र शैक्षिक संस्थाहरू बन्द रहने जानकारी दिनुभएको छ ।
बहुजातीय, बहु–भाषिक र बहु–सांस्कृतिक राष्ट्र नेपालको महत्त्वपूर्ण पहिचानको रूपमा रहेको अति सीमान्तकृत चेपाङ जातिको प्रकृतिपूजक पर्व न्वागीलाई सम्मान गर्दै बिदा दिइएको उहाँले बताउनुभयो । उहाँले नवगी पर्वले आपसी सद्भाव, मेलमिलाप र एकता प्रवर्द्धन गर्ने विश्वाससमेत व्यक्त गर्नु भएको छ । राक्सिराङले चेपाङ समुदायको संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि विशेष पहल गर्दै आएको छ ।
