file photo

हेटौंडा । प्रतिनिधि सभाको आजको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजकाे बैठकले विधेयक बहुमतले पारित गरेको हो ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री अधिकारीले भूमि सम्बन्धी ऐनहरूमा बाझिएका विषयमा एकरुपता कायम गरी स्पष्ट बनाउन विधेयक आवश्यक परेको भन्दै भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन विधेयक ल्याइएको बताउनुभयो । उहाँले विधेयकमा कतै पनि हदबन्दीभन्दा बढी जग्गा दिने भनेर उल्लेख नगरिएको दाबी गर्नुभयो ।
यस्तै प्रतिनिधि सभाको आजको बैठकमा नेपाल नागरिकता दोस्रा संशोधन विधेयक २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल भएको छ । प्रतिनिधि सभाको अर्को बैठक भदौ १८ गते बुधबार दिनको १ बजे बस्ने छ ।