हेटौडा, श्रावण १८ । हेटौंडा उपमहानगरपालिका–९, स्थित प्रगति माध्यमिक विद्यालयले यस वर्ष वर्षे बिदा केवल एक सातामात्र दिने भएको छ । विद्यालयले श्रावण १५ देखि २३ गतेसम्म प्रथम त्रैमासिक परीक्षा सञ्चालन गरी श्रावण २५ देखि ३१ गतेसम्म एक सातामात्र बिदा दिने निर्णय गरेको हो ।

हेटौडा उपमहानगरपालिकाको क्यालेण्डरअनुसार अन्य सामुदायिक विद्यालयमा श्रावण १४ देखि ३१ गतेसम्म वर्षे बिदा दिइएको भएपनि प्रगति माविले नियमित अध्यापनलाई प्राथमिकता दिएको विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीले जानकारी दिनुभयो । यस्तै विद्यालयले यस अबधिमा विद्यार्थीहरुलाई निशुल्क सीपमूलक तालिम दिने तयारी गरेकोसमेत उहाँले बताउननुभयो ।

विद्यालयले वर्षे विदाको सदुपयोग गर्दै विभिन्न संघसंस्थाहरुसंगको सहकार्यमा विद्यार्थीहरुलाई सीपमूलक तालिम दिन लागेको हो । प्रधानाध्यापक पराजुलीका अनुसार सो अवधिमा विद्यार्थीहरुलाई हेयर कटिङ, इलेक्ट्रीसियन, बारिस्टा र ब्युटिसियन सीपसम्बन्धी तालिम दिइने छ । “नियमित शैक्षिक सत्रलाई प्रभावकारी बनाउन हामीले छोटो बिदाको निर्णय गरेका हौँ । साथै, ९ र १० कक्षाका विद्यार्थीलाई बिदाको समय उपयोगी बनाउन निःशुल्क सीप तालिम सञ्चालन गर्ने तयारी गरेका छौँ । जसले लामो बिदाले बालबालिकामा पर्ने शैक्षिक असरलाई समेत न्युनिकरण गर्ने अपेक्षा गरेका छौं ।” प्रधानाध्यापक पराजुलीले भन्नुभयो । लामो बिदाले बालबालिकामा पर्ने शैक्षिक असरलाई न्युनिकरण गर्ने अपेक्षा गरिएको समेत उहाँले बताउनुभयो ।