मकवानपुर,साउन १ । हेटौंडाको एक निजी शैक्षिक संस्थाले कक्षा ११ र १२ मा निशुल्क पढाउने भएको छ । हेटौंडा उपमहानगरपालिका–४, स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्टले नवोदय शिशु सदन र नवोदय इनोभेसन सेन्टरसँगको सहकार्यमा कक्षा–११ मा शिक्षाशास्त्र संकायमा निशुल्क पठनपाठन सुरु गर्न लागेको हो ।

बिहीबार पत्रकार सम्मेलन गर्दै हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले पछिल्लो समय दक्ष शिक्षक जनशक्तिको अभाव भईरहेकोले दक्ष जनशक्ति तयार पार्ने उदेश्यका साथ शिक्षा शास्त्र संकायमा कक्षा ११ र १२ मा निशुल्क पढाउन लागेको बताउनुभयो । पछिल्लो समय शिक्षक जनशक्तिको अभाव बढ्दै गएपछि त्यसको पूर्तिका लागिसमेत पूर्ण छात्रवृत्ति र थप प्रोत्साहनसहित शिक्षाशास्त्र संकायमा पठनपाठन गराउन लागेको उहाँले जानकारी दिनुभयो ।
दक्ष शिक्षक जनशक्ति तयार पार्न पर्याप्त अभ्यास कक्षा, व्यक्तित्व विकासका कार्यक्रम समेत गर्ने योजना बनाएको म्यानेजमेन्टले विद्यार्थीलाई मासिक पाकेट खर्च वापत १ हजार रुपैयाँ पनि दिने जनाएको छ । कक्षा ११ मा नेपाली, अंग्रेजी र गणित विषयमा १० जनाका दरले ३० जना विद्यार्थीलाई शिक्षाशास्त्रमा भर्ना गर्ने भन्दै उहाँले २ वर्षपछि तिनै विद्यार्थीलाई लक्षित गरेर स्नातक तहमा पनि शिक्षाशास्त्र संकाय सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । हेटौँडा स्कूल अफ म्यानेजमेन्ट नाफामुखी संस्था भए पनि कक्षा–११ मा शिक्षाशास्त्र संकायमा प्रोत्साहनसहितको पूर्ण छात्रवृत्ति कार्यक्रम सामाजिक उत्तरदायित्वबाट समेत प्रेरित भएर सञ्चालन गर्न खोजिएको प्रिन्सीपल जोशीले बताउनुभयो ।
विद्यार्थीलाई साताको २ देखि ३ पटक अभिप्रेरणामूलक कक्षा समेत सञ्चालन गरिने बताइएको छ । प्रोत्साहनसहितको पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीले अध्ययन पूरा गरेपछि रोजगारीको अवसर सुनिश्चित हुने दावी गरिएको छ । कक्षा–११ को पठनपाठन साउन ११ गतेबाट सुरु हुनेछ ।










