हेटौंडा, २८ जेठ – बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले प्रदेश गौरवको योजना समेटिएको विस्तृत पत्र प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई बुझाउनु भएको छ । प्रदेश राजधानी हेटौंडा तथा मकवानपुर जिल्लाको दीर्घकालीन विकासलाई लक्षित गर्दै आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा उक्त योजनाहरू समावेश गर्न आग्रह गर्नुभयो ।
प्रस्तावित गौरवका योजनाहरू बुझाउँदै प्रदेश सभा सदस्य श्रेष्ठले उक्त परियोजनाहरू हेटौंडा राजधानीको रूपमा सुशोभन गर्न, भौतिक पूर्वाधार विकास, सामाजिक सेवा प्रवद्र्धन तथा दिगो शहरी विकासका लागि अपरिहार्य रहेको स्पष्ट पार्नुभयो । प्रदेश राजधानी हेटौंडाको भौतिक संरचना अत्यन्तै कमजोर रहेको, प्रशासनिक सेवा सुविधाको अभाव रहेको, शहरीकरण अव्यवस्थित भएको तथा शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा गम्भीर लगानीको खाँचो रहेको उल्लेख गर्नुभएको छ ।
प्रदेश सभा सदस्य श्रेष्ठले पेश गर्नुभएको योजना पत्रमा प्रदेशको प्रशासनिक भवन निर्माण, हेटौंडा–काठमाडौं सुरक्षित मार्ग (भीमफेदी–कुलेखानी), हेटौंडा बाइपास सडक (चुरियामाई–चोकिटोल), कर्रा नदी कोरिडोर, एकीकृत शहरी विकास योजना (टाउन प्लानिङ), प्रदेश सभा गृह निर्माण, हेटौंडा चक्रपथ निर्माण (एत्ःए अन्तर्गत), मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश विश्वविद्यालय लगाएतका योजनालाई आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम सहितको व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।
सांसद श्रेष्ठको प्रस्तुति र योजनाको औचित्यप्रति मुख्यमन्त्री लामाले गम्भीर चासो व्यक्त गर्दै प्रदेश सरकार विकासका आधारहरूमा स्पष्ट र कार्यान्वयनमुखी ढंगले अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी जनअपेक्षाअनुकूल बजेट ल्याउने तयारीमा छौं । यस्ता गम्भीर, यथार्थपरक र भविष्य दृष्टिकोणयुक्त योजनाहरूलाई प्राथमिकतामा राखिनेछ । केही योजना तुरुन्त कार्यान्वयनमा लैजान सकिन्छ भने केहीलाई चरणबद्ध रूपमा अघि बढाइनेछ ।”
मुख्यमन्त्री लामाले योजना कार्यान्वयनका लागि प्रदेश योजना आयोग, सम्बन्धित मन्त्रालय र प्राविधिक निकायहरूसँग समन्वय गरेर ती योजना थप परिमार्जन, विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयारी र बजेट व्यवस्थापन गर्न निर्देशन दिने बताउनुभयो । प्रदेश गौरव योजना सार्वजनिक भएसँगै स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजले सांसद श्रेष्ठको पहलको स्वागत गरेका छन् । उनीहरूले यस्ता योजनाले हेटौंडालाई साँच्चिकै राजधानी बनाउने दिशामा सरकार गम्भीर रहेको सन्देश दिने विश्वास व्यक्त गरेका छन् ।










