file photo

मकवानपुर । मकवानपुरमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सुनाचुरीमा भएको दुर्घटनामा १६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपपरिक्षक श्यामु अर्यालका अनुसार मनहरी–६, स्थित सुनाचुरी चौकीबाट करिब ५०० मिटर पश्चिमतर्फ बिहीबार बिहान करिब ४ः५० बजे इटहरीबाट भैरहवा जाँदै गरेको लु.२ ख ५९९ नम्बरको बस दुद्र्धटना भएको हो । सडकबाट करिब १० मिटर तल खस्दा भएको दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि चितवन तर्फ पठाइएको अर्यालले जानकारी दिनुभयो ।
बसको स्टेरिङ लक भएर नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको साथै दुर्घटनामा घाइते भएकाहरूको अवस्था मध्यम रहेको उहाँले बताउनुभयो । प्रहरीले बसका चालक बाराको कोल्बी नगरपालिका–११ का २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिएको छ ।
यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका–४ निबुवाटारमा गुडिरहेको गाडीमा आगलागी भएको छ । कुलेखानी–भीमफेदी–काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी–४ निबुवाटारमा गुडिरहेको गाडीमा आगलागी भएको हो । काठमाडौँबाट हेटौँडातर्फ आउँदैै गरेको भारतमा दर्ता भएको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो । आगलागीबाट गाडी पूर्ण रूपमा जलेको साथै घटनामा मानवीय क्षति भने हुन नपाएको प्रहरीले जानकारी दिएको छ ।