मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो पटक आयोजना भएको हेटौंडा रनमा अजित कुमार यादव र सन्तोषी श्रेष्ठ पहिलो हुन सफल हुनुभएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बागमती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना तथा पर्वतिय खेलकुद पर्यटन महासंघ नेपाल बागमती प्रदेशको संयोजनमा पुरुष १० किमि र महिला ५ किमि दौड कार्यक्रम भएको हो ।

कार्यक्रममा पुरुष तर्फको १० किलोमिटर दौडमा शसस्त्र प्रहरीका अजित कुमार यादव र महिला तर्फको पाँच किलोमिटर दौड प्रतियोगितामा सन्तोषी श्रेष्ठ प्रथम हुनुभएको हो । पुरुष तर्फ प्रथम हुँदै यादवले नगद ५० हजार रुपैयाँ शिल्ड र प्रमाणपत्र प्राप्त गर्नुभयो । त्यस्तै नेपाली सेनाका टंक कार्की दोस्रो र शसस्त्र प्रहरीकै गणेश सिंह ठकुरी तृतीय हुँदै क्रमश नगद ३० हजार र २० हजार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नुभयो । दौडमा शिव रायमाझी सान्त्वना हुँदै १० हजार र पाँचौ भएका जीवन लामाले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
यस्तै महिला तर्फको पाँच किलोमिटर दौड प्रतियोगितामा सन्तोषी श्रेष्ठ प्रथम, नेपाल प्रहरीका राजपुरा पछाईं दोस्रो र नेपाली सेनाका सरस्वती भटराई तेस्रो, नेपाल प्रहरीका विर्सना कुमाल चौथो र जुनेली सुनार पाँचौ हुनुभयो । उहाँहरुले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ सहित शिल्ड मेडल र प्रमाण प्राप्त गर्नुभयो । पर्यटन वर्ष सफल वनाउन हेटौंडामा एकै पटक करिब एक हजार मानिस खुल्ला म्याराथुनको रुपमा दौडिएका हुन ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल, प्रदेशसभाका सदस्य मुनु सिग्देल, जुनेली श्रेष्ठ, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुणासैनी हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मिना लामा, मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईं, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट लगायतकाको आतिथ्यता रहेको थियो ।