मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को आठ महिनामा करीब ३३ प्रतिशत पूँजीगत बजेट खर्च गरेको छ । गाउँपालिकाको लेखा शाखाले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन २६ गते सम्ममा कुल बजेटको ३२ दशमलव ४ प्रतिशत खर्च भएको हो ।
गाउँपालिकाले चालु आर्थिक वर्षका लागि पूँजीगत तर्फ ४२ करोड ९९ लाख ७१ हजार ५१७ र चालु तर्फ ५४ करोड २७ लाख ५७ हजार ८३ रुपैयाँ गरि कुल ९७ करोड २७ लाख २८ हजार ६ सय बराबरको बजेट विनियोजन गरेको थियो । जसमध्ये पूँजीगत तर्फ हालसम्म १३ करोड ९३ लाख २२ हजार ९७ रुयैयाँ अर्थात ३२ दशमलव ४ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिनुभयो ।
यस्तै चालु तर्फ भने, हालसम्म ५२ दशमलव ७२ प्रतिशत अर्थात २८ करोड ६१ लाख १८ हजार ९१३ खर्च भएको उहाँले बताउनुभयो । चालु तर्फ कुल ५४ करोड २७ लाख ५७ हजार ८३ रुपैयाँ विनियोजन भएको उहाँले बताउनुभयो । समग्रमा भने, कुल बजेटको ४३ दशमलव ७३ प्रतिशत अर्थात ४२ करोड ५४ लाख ४१ हजार १० रुपैयाँ खर्च भएको भट्टराईले जानकारी दिनुभयो ।
पालिकाले यसै अवधिमा कुल बजेटको ५८ दशमलव ५८ प्रतिशत अर्थात ५६ करोड ७० लाख ४९ हजार ७९३ रुपैयाँ आम्दानी गरेको समेत उहाँले जानकारी दिनुभएको छ । पालिकाले चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट १७ करोड ५५ लाख ४३ हजार ७ सय अनुमान गरेकोमा हालसम्म १५ करोड ४३ लाख ३४ हजार ८४ रुपैयाँ अर्थात ८७ दशमलव ९२ प्रतिशत आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो । भट्टराईका अनुसार पालिकाले अनुमान गरेको मध्ये पूँजीगत समपुरक अनुदान, विज्ञापन कर, अन्य संस्थागत आन्तरिक अनुदान, सरकारी सम्पत्ती, वाहालबाट प्राप्त आय, अन्य विक्तिबाट प्राप्त रकम, न्यायीक दस्तुर र धरौटी सदरस्याहा शिर्षकमा शुन्य आम्दानी गरेको छ ।