मकवानपुर बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौंडा उपमहानगरपालिकालाई आज बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गरिएको छ । बिहीबार एक समारोहकाबीच नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उपमहानगरपालिकालाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गर्नुभएको हो ।

उपप्रधानमन्त्री सिंहले बागमती प्रदेशको राजधानी, मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका, ३६ हजार ८२२ घरधुरी, ८७ हजार ५४८ महिला र ८८ हजार ६०७ पूरुष गरि जम्मा १ लाख ७६ हजार १६३ जनसंख्या (५० हजार १८५ बालबालिका), भएको भौगोलिक र सास्कृतिक विभिधता युक्त यस उपमहानगरपालिकाले स्थानीय सरकार संचालन ऐन २०७४ को परिक्षेद ३ को दफा १२ को उपदफा २ को (ग), बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ तथा बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७८ ले निर्दिष्ट गरेका सुचक तथा तहगत चरणहरु पुरा गरेको भन्दै बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गर्नुभएको थियो ।

बालमैत्री घोषणा सभालाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले बालबालिकाको सर्वाङ्गिण विकासको लागि राज्यसँगै परिवारको भूमिका महत्वपूर्ण र अपरिहार्य रहेको बताउनुभयो । ‘बालबालिकाको सर्वाङ्गिण विकासमा राज्यसँगै परिवारको ठूलो र अपरिहार्य भूमिका छ । यसलाई सबैले ग्रहण गर्न आवस्यक छ,’ उहाँले भन्नुभयो । परिवारले नै प्रत्येक बालबालिकालाई एक असल सन्तान र एक असल नागरिक बनाउन भूमिका खेल्न सक्ने उहाँको भनाई थियो । मन्त्री सिंहले बालबालिकाको अधिकार तथा नागरिकको मौलिक हक प्रत्याभुत गर्ने सवालमा स्थानीय तहदेखि प्रदेश र संघ सरकारले काम गरिरहेको बताउनुभयो । संविधानमै बालअधिकारलाई मौलिक अधिकारको रुपमा उल्लेख गरेको जानकारी दिँदै उहाँले तीनै तहका सरकारहरुले अब उपयुक्त योजना र रणनीतिसहित बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरनगर घोषणासँगै यसको दिगोपनमा सबै गम्भीर बन्नुपर्ने उहाँको भनाई थियो । हेटाँडा व्यवस्थित सहरको रुपमा विकास भइरहेको उल्लेख गर्नुहुँदै उहाँले नगरपालिकाबाट विस्तार हुँदै उपमहानगरपालिका र अब महानगरपालिकामा परिणत हुने चरणमा रहेको बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिका मकवानपुर जिल्लाको चौथो स्थानीय तहका रुपमा बालमैत्री शासनयुक्त घोषणा भएको छ । मकवानपुरको १० पालिकामध्ये यसअघि मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भइसकेका छन् । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा बागमती प्रदेशका कार्यवाहक मुख्यमन्त्री प्रकाश श्रेष्ठ, संघिय सांसद दिपक बहादुर सिंह, प्रदेश सांसदहरु ईन्द्रबहादुर बानीया, एकालाल श्रेष्ठ, प्रेमबहादुर पुलामीलगायतको आतिथ्यता थियो ।