हेटौडा– गत आर्थिक बर्षको तुलनामा हेटौडा उपमहानगरपालिकामा यो बर्ष राजश्व संकलनमा कमी आएको छ । गत बर्ष माघ २० सम्म २२ करोड ६० लाख रुपैयाँ संकलन भएकोमा यस बर्ष २१ करोड ४ लाख रुपैयाँ मात्र संकलन भएको हो ।

गत बर्षको यही अवधिको तुलनामा एक करोड ५६ लाख रुपैयाँले राजश्व संकलनमा कमी आएको हेटौडा उपमहानगरपालिका राजश्व शाखाले जनाएको छ । गत बर्ष ठेक्कामा गएको योेजनाहरुमा यो बर्ष ढिलाइ भएकोले राजश्व रकम कम भएको शाखाले जनाएको छ । ठेक्का प्रक्रियाबाट गर्दा सुरुमा नै ४० प्रतिशत रकम भुक्तानि गर्ने हुँदा धेरै देखिने भए पनि यो बर्ष भने दैनिक संकलन भैरहेकाले कम देखिएको उपमहानगरपालिकाले जनाएको छ ।
गत बर्ष १८ करोड रुपैयाँ बार्षिक राजश्व संकलन गर्ने लक्ष्य राखेको उपमहानगरपालिकाले माघसम्म तोकीएको लक्ष्य भन्दा करिब २० प्रतिशत बढी संकलन गरेको थियो । तर यस बर्ष भने बार्षिक लक्ष्य ३४ करोड रुपैयाँ तोकिँदा अहिलेसम्म ६१ प्रतिशत मात्र राजश्व संकलन गरेको छ । गत बर्ष माघसम्ममा उपमहानगरले घर बहाल कर ७५ लाख ८९ हजार रुपैयाँ संकलन गरेकोमा यस बर्ष भने बृद्धि भइ एक करोड ३६ लाख रुपैयाँ संकलन गरेको छ । उपमहानगरपालिकाले गत बर्ष ३४ करोड ७ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । pradesh_daily