फाइल तस्विर

 कोरोना भाइरसको संक्रमणका कारण आज थप ६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण पछि मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज काठमाडौ र बर्दियामा १–१ जना पुरुष र मोरङ, भक्तपुर, चितवन र सुनसरीमा १–१ जना महिला गरी ६ जनाको मृत्यु भएको जनाकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ५ सय २२ जनामा गरिएको परिक्षणमा ६ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा २ सय १६ जना महिला र ४ सय ६५ जना पुरुष रहेका छन् । यो संगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या २८ हजार ९ सय ३८ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै आज काठमाडौँमा १ सय ३७ जना, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जना गरी उपत्यकामा थप १ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उपचारपछि निको भई घर फर्कने ६१.२ प्रतिशत रहेको र आज थप १ सय २० जना संक्रमण मुक्त भएसँगै कोरोना संक्रमण पछि निको हुनेको कुल संख्या १७ हजार ७ सय पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो ।

यसैगरी आज देशभर संक्रिय संक्रमितहरुको संख्या १० हजार १ सय १८ रहेको छ भने देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा १३ हजार ५ सय ७१ जना रहेका छन् । यस्तै सक्रिय संक्रमितहरुमध्ये १ सय ३१ जनाको आइसियुमा र ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यसैगरी कारोना संक्रमितहरुको संख्या बढ्दै जाँदा सरकारी अस्पतालका बेडहरु कम हुने भएकाले मेडिकल कलेजहरुले एक तिहाई र प्राईभेट अस्पतालहरुले २० प्रतिशत बेड छुट्टयाउनुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । जुन मेडिकल कलेजहरुले एकतिहाइ र प्राइभेट अस्पलालहरुले २० प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्टयाउदैनन त्यस्ता अस्पताललाई सरकारले पिसिआर टेस्टको लागि दिइएको अनुमति खारेज गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोना संक्रमितको उपचारका लागि बेड छुट्टयाएका मेडिकल कलेज र प्राइभेट अस्पतालहरुलाई भने प्रयोगशाला सञ्चालन गर्न दिने मन्त्रालयले जनाएको छ ।