राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवर तालको बाँध भरिन लागेपछि सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले कुलेखानी ड्याम केही घण्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत विचार गरी बाँधका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।
“निरन्तरको बर्षाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत केन्द्रको बाँधमा पानीको सतह बढ्न गएको र केही घण्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ढोकाहरू खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका रौतहट र सर्लाही जिल्ला समेतका बस्तीहरूमा एक्कासी बाढी आउनसक्ने अवस्था देखिएको छ ।”, प्राधिकरणका उपसचिव एवम् प्रवक्ता डा.डिजन भट्टराईद्वारा जारी सूचनामा भनिएको छ ।
कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत हाइ अलर्टमा बस्नु हुन प्राधिकरणले आग्रह गरेको छ । साथै प्राधिकरणले सम्बन्धित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले समेत तदनुरूप सुरक्षित स्थानको पूर्वतयारी गर्नसमेत अनुरोध गरेको छ ।