file photo

मकवानपुर । बागमती प्रदेशमा गाईभैंसीमा लाग्ने लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि साप्ताहिक खोप अभियान सञ्चालन गरिएको छ । शुक्रबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ बाट खोप अभियानको उद्धाटन गरिएको हो ।
बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले मकवानपुरगढीका सञ्जय नेपालको गाई फार्ममा खोप लगाएपछि खोप कार्ड हस्तान्तरण गर्दै अभियानको शुभारम्भ भएको घोषणा गरेका हुन् ।
आज देखि ३१ गतेसम्म बागमती प्रदेशका १३ जिल्लामा सञ्चालन हुने खोप अभियानको मकवानपुरबाट सुरुवात गर्दै मन्त्री श्रेष्ठले किसानको पशुधनको सुरक्षा गर्न मन्त्रालय सदैव सजग रहेकाले खोप तथा आवश्यक प्राविधिक सहयोग गर्न सधैँ तत्पर रहेको बताए ।
‘किसानका लागि आवश्यक भौतिक पूर्वाधार र जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई समेत मन्त्रालयले प्रोत्साहन गर्नेछ । हामी सधैं किसानको हितमा काम गर्छौ’ उनले भने ।
साथै किसान काममा सधैँ व्यस्त हुने भएकाले स्थानीयतह र वडाहरुले मन्त्रालयमार्फत किसानका लागि उपलब्ध गराइने अनुदान तथा छुट्याइएको बजेट कार्यक्रमबारे समेत जानकारी गराइदिन उनले आग्रह गरे । यसवर्ष ७६ हजार २ सय ७५ वटा पशुमा भ्याक्सिन लगाउने लक्ष्य लिएको मन्त्रालयले लिएको छ ।