मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । सत्ता समीकरण परिवर्तनसँगै ३ पटक प्रदेश सभाबाट विश्वासको मत पाउनुभएका मुख्यमन्त्री जम्कट्टेलले आज (आइतबार) चौथो पटक विश्वासको मत लिदैं हुनुहुन्छ ।
तीन पटकसम्म विश्वासको मत पाउनु भएका मुख्यमन्त्री जम्कट्टेललाई यो पटक भने सत्ता विमुख हुने निश्चित छ । केन्द्रमा सत्ता समिकरण फेर बदल भएसंगै बागमती प्रदेशमा उहाँले बहुमत पु¥याउने सम्भावना छैन् । असार १७ मा केन्द्रीय तहमा एमाले–कांग्रेस सत्ता समीकरण निर्माण गरेर अघि बढ्ने सहमति बनेसँगै बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार संकटमा परेको थियो ।
२०७९ पुस २५ मा एमाले, राप्रपा, माओवादी केन्द्र, एकीकृत समाजवादीको सत्ता समीकरणबाट मुख्यमन्त्री बन्नुभएका जम्कट्टेलले समीकरण परिवर्तनसँगै पहिलो पटक २०७९ माघ ३ मा विश्वासको मत पाउनुभएको थियो । त्यसबेला कुल ११० जना प्रदेश सभा सदस्य मध्ये १०५ सदस्यको समर्थन पाउनुभएका जम्कट्टेल नेतृत्वको सत्ता गठबन्धन ४ महिना चलेर चैत १० मा तत्कालिन गठबन्धन भत्किएको थियो ।
राप्रपा र एमालेसँगको सहयात्रा टुंगिएपछि २०७९ चैत १० मा दोस्रो पटक उहाँले विश्वासको मत लिनुहुँदा प्रदेश सभाका ६७ सदस्यको समर्थन पाउनुभएको थियो । करिब १ बर्ष कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको साझेदारीमा सरकार सञ्चालन भयो । अन्ततः २०८० फागुन २० मा पुनः समीकरण परिवर्तन भयो । फागुन २३ मा सरकारबाट कांग्रेस अलग भयो । त्यस लगत्तै बाध्यकारी परिस्थितिका बीच चैत १९ मा मुख्यमन्त्री जम्कट्टेलले पुनः विश्वासको मत लिनुभयो । सो समयमा उहाँले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसहितको गरी ५६ मत प्राप्त गर्नुभएको थियो ।
तर, चौथो पटकमा उहाँले प्रदेश सभामा विश्वासको मत पाउने सम्भावना छैन् । नयाँ समीकरण अनुसार सरकार निर्माणको तयारी थालेका कांग्रेस एमालेले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएका छन् । कुल ११० प्रदेशसभा सदस्य मध्ये कांग्रेसको ३७ र एमालेको २७ सदस्य रहेका छन् । र यी दुवै दलले आफ्ना सांसदहरुलाई विपक्षमा मतदान गर्न ह्वीप नै जारी गरिसकेका छन् । यस्तै प्रदेश सभामा प्रतिनिधित्व गर्ने राप्रपा र नेमकिपाले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएका छन् । प्रदेशसभा राप्रपाको १३ र नेमकिपाको ३ जना सदस्यहरु रहेका छन् ।
यसरी हेर्दा मुख्यमन्त्री पक्षमा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रको २१ र साझेदार दल एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ मत प्राप्त हुने देखिन्छ । जुन बहुमत पु¥याउन र्पयाप्त हुँदैन । ११० सदस्य प्रदेश सभा सदस्य मध्ये बहुमतका लागि ५६ मत आवश्यक हन्छ ।