हेटौंडा–बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पाँच वर्ष भित्र प्रदेशमा आमुल परिवर्तन गराइसक्ने बताउनुभएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणद्वारा निर्मित वुद्ध माध्यामिक विद्यालय हेटौंडा १२ को नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशको शैक्षिक तथा अन्य विकासमा प्रदेश सरकार दिलोज्यान दिएर लागेको बताउनुभयो ।
उहाँले विगतमा प्राविधिक शिक्षालाई राज्यले कम प्राथमिकता दिएको भएपनि अबका दिनमा शीप मूलक प्राविधिक शिक्षाका लागि सरकार लाग्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले एक स्थानीय तह बराबर कम्तिमा पनि एक प्राविधिक शिक्षालयको अवधारणा अगाडि सारेको बताउनुभयो । शिक्षालयहरु बेराजगार उत्पादन गर्ने थलोको रुपमा विकास हुनु नहुने भन्दै शीप मूलक शिक्षा मार्फत विद्यार्थीहरुलाई दक्ष बनाएर रोजगार बनाउन तर्फ लाग्नुपर्ने उहाँको भनाई थियो । देशका लाखौं जनशक्ति अर्काको देशमा गएर पसिना बगाइरहेको र देशका लागि आवश्यक पर्ने विभिन्न क्षेत्रका प्राविधिक एवं दक्ष जनशक्तिहरु बाहिरबाट मगाउनु परिरहेको वर्तमान अवस्थामा देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्नेगरी शैक्षिक क्रियाकलापहरु अगाडि बढाइनुपर्नेमा उहाँको जोड थियो । भुकम्पले भत्काउने काम मात्रै नगरी नेपाली शैक्षिक क्षेत्रमा अगामी सयौंवर्षका लागि हुनेगरी पुननिर्माणको काम समेत गराएको उहाँको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले प्राधिकरणले देशभर सात हजार ५५३ वटा विद्यालयहरु बनाउँदै गरेको र अधिकांशको निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले भुकम्पले क्षति पु¥याएका विद्यालयहरु मध्य मकवानपुरमा २५२ वटा विद्यालय भवनहरुको पुननिर्माणको काम भइरहेको बताउनुभयो । अधिकृत ज्ञवालीले सुविधा सम्पन्न आधुनिक विद्यालय भवनहरु बनेकाले अब गुणस्तरीय शिक्षामा ध्यान दिन शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई अनुरोध गर्नुभयो ।
त्यस्तै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले भुकम्पले नष्ट भएका भौतिक संरचनाहरुको दीर्घकालिन सोँचका साथ भएको पुननिर्माणले उत्साहित बनाएको बताउनुभयो । उहाँले हामीले प्राप्त गरेको ठूलो उपलब्धीको रक्षा गर्दै त्यसको उचित व्यवस्थापन र संरक्षण तथा आवश्यक तवरले फाइदा लिनुपर्ने बताउनुभयो । सरकारले निर्माण गरिदिएको सम्पतीको संरक्षण र उचित उपयोग गरी फाइदा लिने काम पनि समुदायकै भएको उहाँको भनाई थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष ललित घलानले विगतमा पछाडि परेको यस क्षेत्रले विकासको लय समातेको बताउनुभयो । उहाँले मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश सरकारकै कारण ५ वर्षमा गर्ने काम दुई वर्षमा मै गरी सिध्याएको बताउनुभयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुण्यसिद्धिलामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, राष्ट्रिय पुननिर्माण प्राधिकरणका शिक्षा निर्देशक चुँडामणि पौडेल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष मनोज वाईवालगायतको सहभागिता थियो । विद्यालयमा हाल ५ सय ६८ जना विद्यार्थी अध्यनरत रहेका छन् ।