मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अहिलेको २१ औं सताब्दीमा घोकन्ते शिक्षा काम नलाग्ने बताउनुभएको छ । हेटौंडा १२ स्थित राष्ट्रिय पुननिर्माण प्राधिकरणद्वारा निर्मित वुद्ध माध्यामिक विद्यालयको १८ कोठे नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले अबको शिक्षा सिपमुलक हुनुपर्ने बताउनुभयो । शीप मूलक प्राविधिक शिक्षाका लागि सरकार लागेकाे मुख्यमन्त्री पौडेलको भनाई थियो ।

मुख्यमन्त्री पौडेलले समृद्धिका लागि शिक्षा महत्वपुर्ण हुने भन्दै अबको शिक्षा सिपमुलक प्राविधिक शिक्षा हुनुपर्ने बताउनुभयो । विगतमा प्राविधिक शिक्षालाई राज्यले कम प्राथमिकता दिएको भएपनि अबका दिनमा शीप मूलक प्राविधिक शिक्षाका लागि सरकार लाग्ने उहाँले बताउनुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले एक स्थानीय तह बराबर कम्तिमा एक प्राविधिक शिक्षालयको अवधारणा अगाडि सारेको बताउनुभएको छ । शिक्षालयहरु बेराजगार उत्पादन गर्ने थलोको रुपमा विकास हुनु नहुने भन्दै शीप मूलक शिक्षा मार्फत विद्यार्थीहरुलाई दक्ष बनाएर रोजगार बनाउन तर्फ लाग्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले प्राधिकरणले देशभर सात हजार ५ सय ५३ वटा विद्यालयहरु बनाउँदै गरेको र अधिकांशको निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले भुकम्पले क्षति पु¥याएका विद्यालयहरु मध्ये करीब ८० प्रतिशत प्रगति भएको बताउँदै मकवानपुरमा ३ सय ३४ मध्ये २ सय ५७ वटा विद्यालय भवनहरुको पुननिर्माणको काम सम्पन्न भईसकेको समेत बताउनुभयो । अधिकृत ज्ञवालीले सुविधा सम्पन्न आधुनिक विद्यालय भवनहरु बनेकाले अब गुणस्तरीय शिक्षामा ध्यान दिन शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले भुकम्पले नष्ट भएका भौतिक संरचनाहरुको दीर्घकालिन सोँचका साथ भएको पुननिर्माणले उत्साहित बनाएको बताउनुभयो । उहाँले हामीले प्राप्त गरेको ठूलो उपलब्धीको रक्षा गर्दै त्यसको उचित व्यवस्थापन र संरक्षण तथा आवश्यक तवरले फाइदा लिनुपर्ने बताउनुभयो । सरकारले निर्माण गरिदिएको सम्पतीको संरक्षण र उचित उपयोग गरी फाइदा लिने काम पनि समुदायकै भएको उहाँको भनाई थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुण्यसिद्धिलामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, राष्ट्रिय पुननिर्माण प्राधिकरणका शिक्षा निर्देशक चुँडामणि पौडेल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष ललित घलान, १३ का अध्यक्ष मनोज वाईवालगायतको सहभागिता थियो ।