मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज हेटौंडा आउदै हुनुहुन्छ । हेटौंडा–११, थानाभर्याङमा नवनिर्मित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनको उद्घाटनका लागि प्रधानमन्त्री ‘प्रचण्ड’ हेटौंडा आउन लाग्नु भएको हो ।
देशकै तेस्रो ठूलो हेटौंडा ४००÷२२०÷१३२÷११ केभी सवस्टेसनको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्नुहुने हेटौँडा सवस्टेसनका आयोजना प्रमुख शुक्रराज देवकोटाले जानकारी दिनुभयो । उक्त सवस्टेशनको निर्माण सम्पन्न भएसँगै चार्जिङ गर्ने काम समेत भइसेकको छ । सवस्टेशन निर्माणपछि पूर्वमा इनरुवादेखि पश्चिम नवलपरासीसम्मको विद्युत वितरण प्रणालीको गुणस्तरमा सुधार आउने उहाँले बताउनुभयो । सो सवस्टेशनले हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन र हेटौँडा–भरतपुर–नवलपरासी २२० केभी प्रसारणलाइनलाई जोड्ने आयोजना प्रमुख देवकोटाको भनाई छ ।
हेटौँडा सवस्टेसनबाट इनरुवा सवस्टेसनसम्म २८८ किलोमिटर प्रसारणलाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको आयोजना प्रमुख देवकोटाले बताउनुभयो । ढल्केबर–इनरुवा १५४ किलोमिटरको प्रसारणलाइन निर्माण सम्पन्न भइसकेको छ भने हेटौंडा–भरतपुर–नवलपरासी २२० केभी प्रसारणलाइनको निर्माण कार्य पनि पूरा भइसकेको प्रमुख देवकोटाले जानकारी दिनुभयो ।
हेटौँडा–ढल्केबर खण्डको १३४ किलोमिटर प्रसारणलाइन भने निर्माणाधीन रहेको उहाँले बताउनुभयो । उहाँले हेटौंडा–ढल्केबर खण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर १५, १६ र १७ मा निर्माणको काम केही बाँकी रहेको जानकारी दिनुभएको छ ।