मकवानपुर । गणतन्त्र दिवसका अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुभकामना व्यक्त गर्नुुभएको छ । प्रदेश प्रमुख शर्माले आज मनाईंदै गरिएको १७ औं गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई एवं दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमा उहाँले नेपाली जनताका प्रतिनिधिमार्फत २०६५, जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट हाम्रो देश नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक घोषित भएको उल्लेख गर्नुभएको छ । उहाँले सार्वभौमसत्ता पूर्ण रुपमा जनतामा निहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन र सरकार सञ्चालन हुने उत्कृष्ट प्रणाली शुभारम्भ भएको ऐतिहासिक दिनको रुपमा सम्झनु भएको छ । “जनताका प्रतिनिधीमार्फत निर्मित हाम्रो सविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धि व्यवस्था, संघीय शासन प्रणाली, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रणाली, सामाजिक न्यायजस्ता प्रावधानले समाजवादको दिशामा अगाडी बढ्न मार्गप्रशस्त गरेको छ । यो हाम्रो देश नेपाल र हामी सम्पूर्ण नेपालीका लागि अत्यन्त सुखद् र गौरवको विषय हो ।” शुभकामना सन्देशमा उल्लेख छ ।
उहाँले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामार्फत मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणसहितको सभ्य, सुसंस्कृत र समुन्नत समाज निर्माण हुने विश्वास व्यक्त गर्नु भएको छ । शुभकामना सन्देशमा संवैधानिक रुपमा हामीले पाएका हक–अधिकारहरुको प्रभावकारी कार्यान्वयन गर्दै राष्ट्र निर्माणको महाअभियानमा लामबद हुन यो दिवसले हामी सबैलाई अभिप्रेरित गरोस् भन्ने कामनासमेत व्यक्त गर्नुभएको छ ।