मकवानपुर । विद्यालय बाहिर भएका बालबालिकालाई विद्यालयमा ल्याउनकोलागि तीनै तहका सरकारको सहकार्यमा अहिले देशभरका सामुदायिक विद्यालयमा भर्ना अभियान सञ्चालन भईरहेको छ । भर्ना अभियानमा कतिपय समुदायिक विद्यालय (विशेषगरि ग्रामिण क्षेत्रका) मा विद्यार्थी नभएर विद्यालय नै मर्ज गर्नुपर्ने अवस्थामा पुगेको छ भने, कतिपय विद्यालयहरुमा विद्यार्थीको चाप थेग्न नसकेर प्रवेश परिक्षा लिएरमात्रै भर्ना गर्नु परेको छ ।

No description available.

हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले पनि क्षमताभन्दा बढी विद्यार्थीहरु हुने भएपछि सोमबार प्रवेश परीक्षा सञ्चालन गरेको छ । विद्यार्थी भर्ना हुनेको चाप थेग्न नसकेर प्रवेश परीक्षा सञ्चालन गरेको विद्यालयले जनाएको छ । विद्यालयको क्षमताभन्दा धेरै विद्यार्थीले भर्ना हुन आवेदन दिएपछि प्रवेश परीक्षा मार्फत विद्यार्थी छनोट गर्न लागिएको विद्यालयका प्रधानाध्यापक माधव दाहालले बताउनुभयो । पछिल्लो केहि वर्ष यता विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि भएसंगै विद्यार्थीको चाप बढेको उहाँले बताउनुभयो ।
भौतिक पूर्वाधार अभावका कारण आएका सबै विद्यार्थीहरुलाई भर्ना गर्न सक्ने अवस्था छैन विद्यालयका प्रधानाध्यापक दाहालले भन्नुभयो ‘‘विशेष गरि मधेश प्रदेशबाट र विभिन्न निजी विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु भर्नाका लागि यहाँ आएका छन् । आएका सबै विद्यार्थीलाई भर्ना गर्न सक्ने विद्यालयको क्षमता छैन । भौतिक पूर्वाधारको अभावका कारण सिमित संख्यामा मात्र विद्यार्थी भर्ना गर्नुपर्ने भएकाले प्रवेश परीक्षा लिनुपर्ने विद्यालयको बाध्यता छ ।’’ प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई मात्र भर्ना गरिने उहाँले बताउनभुयो ।
चालु शैक्षिक सत्रका लागि कक्षा ५ देखि ९ सम्म ३५० जना मात्र नयाँ विद्यार्थी भर्ना लिन सक्ने क्षमता भएकोमा ७२१ जना विद्यार्थीले आवेदन दिएपछि प्रवेश परिक्षा लिनु परेको उहाँले बताउनुभयो । विद्यालयमा सोमबार भर्ना हुन आवेदन दिएका मध्ये ६३९ जनाले प्रवेश परिक्षा दिएका छन् । जसमध्ये ३८९ जना उत्तिर्ण भएको उहाँले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिसंग छलफल गरेर कक्षाकोठा व्यवस्थापन गर्ने र उत्तिर्ण भएका विद्यार्थीहरुलाई भर्ना गर्ने योजना रहेको प्रधानाध्यापक दाहालले बताउनुभयो । “हामीले थप चारवटा कक्षाकोठा व्यवस्थापन गर्दै छौं ” उहाँले भन्नुभयो । विद्यालयमा कक्षा १ देखि ५ सम्मका लागि विद्यालयले यस अघि एकसय विद्यार्थी भर्ना गरिसकेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले विद्यालयको शैक्षिक गुणस्तर र राम्रो व्यवस्थापनका कारण पछिल्लो समय निजी विद्यालय छाडेर पनि भुटनदेवीमा भर्ना हुने संख्या बढेको बताउनुभयो । भुटनदेवी माविमा प्राबिधिक धारको समेत पढाई हुने भएकाले विद्यार्थी र अभिभावकको पहिलो रोजाई बन्न पुगेको उहाँले बताउनुभयो । प्राविधिक धारतर्फ सिभिल ईन्जिनियर तर्फ कक्षा ९–१२ को प्रवेश परिक्षा भने आगामी बैशाख १४ गते हुने उहाँले बताउनुभयो । उहाँले अहिले प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र जिल्लाबासीलाई प्राथमिकता दिएर परिक्षाफल प्रकाशन गरिएको भन्दै परिक्षामा उत्तिर्ण भएकाकाहरुलाई जसरी पनि व्यवस्थापन गर्ने बताउनुभयो । शैक्षिकसत्र २०८० मा विद्यालयमा २ हजार ६८ जना विद्यार्थी भर्ना भएका थिए ।