काठमाडौँ– तराई द्रुत मार्ग सडक निर्माण परियोजनाको चैत्र मसान्तसम्म ३३ प्रतिशत भौतिक र वित्तीय प्रगति भएको नेपाली सेनाले जनाएको छ ।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा काठमाडौँ तराई÷मधेश द्रुत मार्ग निर्माणको प्रगतिका विषयमा भएको छलफलमा प्रधान सेनापति प्रभुराम शर्माले द्रुतमार्ग निर्माणको काम पछिल्लो समय सन्तोषजनक रुपमा अगाडी बढिरहेको जानकारी गराउनुभयो ।

प्रधान सेनापति शर्माले राज्यव्यवस्था तथा सुशासन समितिको यस अघिको बैठकबाट भएका निर्देशनले काम गर्न थप सहजता प्रदान गरेको र वन तथा वातावरण मन्त्रालयबाट सहजीकरण भएपछि तोकिएको समयमा काम सम्पन्न गर्ने गरी अगाडी बढ्न सहज भएको बताउनुभयो ।

द्रुतमार्ग अन्तर्गत निर्माणाधीन सुरुङ मार्गहरूको समग्रमा ७६ प्रतिशत भन्दा बढी काम सम्पन्न भएको र लेन डाँडामा निर्माणाधीन सुरुङ छिट्टै ब्रकथु्र गर्ने अवस्थामा पुगेको नेपाली सेनाले जनाएको छ ।

द्रुतमार्ग निर्माण परियोजना अन्तर्गत खोकना क्षेत्रमा रहेको जग्गा प्राप्ति सम्बन्धी समस्या समाधान हुने क्रममा रहेको पनि नेपाली सेनाले समितिको बैठकमा जानकारी गराएको छ ।

यसैगरी नेपाली सेनाले निर्माण गरिरहेको चारवटा करिडोरहरु मध्ये कर्णाली करिडोरको काम ८८ प्रतिशत सम्पन्न भएको, बेनिघाट, आरुघाट, लार्के भन्ज्याङ करिडोरको ७० प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।

यसैगरी, दार्चुला, टिंकर, तुषार पानी करिडोरको ६७ प्रतिशत काम सम्पन्न भएको, खाँदवारी किमाथांका सडकको ७० प्रतिशत काम भएको जानकारी गराउँदै ती सबै करिडोर निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्ने गरी काम भइरहेको पनि नेपाली सेनाले जानकारी गराएको छ ।