हेटौंडा । चौथो संस्करणको हेटौंडा उपमहानगरपालिका वडा स्तरिय मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ ले जितेको छ । बुधबार भएको फाइनल खेलमा वडा नम्बर १४ लाई सडन डेथमा ६–५ गोलअन्तरले हराउँदै वडा नम्बर ४ ले उपाधि कब्जा गरेको हो ।

हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको निकै नै प्रतिष्पर्धात्मक खेलमा निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा २–२ गोलको बराबरी भएपछि सडनडेथबाट विजेताको टुंगो लागेको हो ।
प्रतियोगिताको विजेता बनेको वडा नम्बर ४ ले उपाधिसहित नगद दुई लाख रुपैयाँ हात पार्यो भने उपविजेता वडा नम्बर १४ ले नगद एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । यस्तै, प्रतियोगितामा तृतीय हुने १५ नम्बर वडाले ५० हजार रुपैयाँ र चौथो हुने १३ नम्बर वडाले २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगिताको व्यक्तिगत विधातर्फ वडा नम्बर ४ का अनिश महर्जन सर्वोकृष्ट खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलरक्षक निरज देउला, उत्कृष्ट डिफेन्डर वडा नम्बर १४ का सुविन घलान, उत्कृष्ट मिडफिल्डर वडा नम्बर १४ कै दीपेश भण्डारी र उत्कृष्ट फरवार्ड वडा नम्बर ४ का अनुप राना मगर घोषित भए ।
हेटौँडा उपमहानगरको सहयोग तथा नगर खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिताको समापन कार्यक्रममा विजयी खेलाडीहरुलाई मेयर मिना कुमारी लामा र उपमेयर राजेश बानीयाँलगायत विभिन्न वडाका वडा अध्यक्षहरु, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामा, नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्रप्रसाद घिमिरे, मकवानपुर जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष वेश खड्गी, लगायतले पुरस्कृत गर्नुभएको थियो । प्रतियोगितामा हेटौँडा उपमहानगरपालिकाको १९ वटै वडाहरुको सहभागिता रहेको थियो ।