मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज फेरी मन्त्रीपरिषद् बिस्तार गर्नु भएको छ । मन्त्रीपरिषद् बिस्तारका क्रममा उहाँले आज नेकपा एमालेबाट चारजना मन्त्री नियुक्त गर्नु भएको हो ।

नवनियुक्त मन्त्रीहरुले आजै प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलको सिफारीसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।

मुख्यमन्त्री जम्कट्टेलले एमालेबाट उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई नियुक्त गर्नुभएको छ । यसअघि आज बिहानमात्र मात्र नेकपा (एकीकृत समाजवादी) बाट रमा आलेमगरलाई विना विभागीय मन्त्रीमा नियुक्त गर्नुभएको थियो । याे संगै मुख्यमन्त्री तथा मन्त्रिपरिदषद् कार्यालयसहित १२ वटा मन्त्रालय रहेकाे बागमतीमा मन्त्रिपरिषद सदस्य संख्या १३ पुगेको छ ।