मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा उहाँले नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश सभा नियमावली २०७४ को उपनियम ४ बमोजिम प्रस्तुत गर्नुभएको विश्वास मत सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो ।

उहाँको पक्षमा ५६ मत र विपक्षमा ३७ मत तथा मत दिन्न भन्नेमा १५ मत परेको थियो । सोमबार बागमती प्रदेश सभा बैठकमा नेकपा माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना गरि ५६ जना सांसदले उहाँलाई विश्वासको मत दिनुभएको हो ।

यस्तै नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले विपक्षमा मतदान गरे, भने राप्रपा तटस्थ रहेको थियो । विश्वासको मतको विपक्षमा ३७ मत परेको छ । १५ सांसद तटस्थ रहनुभयो ।११० सदस्य प्रदेश सभामा १०८ जना सांस्द उपस्थित हुनु भएको थियो ।

२०७९ पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनु भएका जम्कट्टेलले सोमबार तेस्रो पटक विश्वासको मत लिनुभएको हो । पहिलो पटक २०७९ माघ ३ गते र दोस्रो पटक चैत्र १० गते विश्वासको मत लिनुभएको थियो । प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।