सरकारले महालेखापरीक्षकमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम रायलाई सिफारिस गरेको छ । आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

उहाँलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरिएको परिषद्की सदस्यसमेत रहनुभएकी उपसभामुख इन्दिरा रानामगरले जानकारी दिनुभयो । ताेयम राय अहिले तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी हुनुहुन्छ ।
गएको जेठ ८ गते टङ्कमणि शर्मा आफ्नो छ वर्षे कार्यकाल पूरा गरी बिदा भएपछि कार्यालय नेतृत्वविहीन छ । तत्कालीन राष्ट्रपतिबाट २०७४ जेठ २ गते नियुक्त भएका शर्माले पूरै कार्यकाल बिताउनुभएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने प्रावधान रहेको छ ।