हेटौंडा । हेटौंडा अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा. श्रीधर अर्याल नियुक्त हुनुभएको छ । दशौं तहका वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन अर्याल भक्तपुर अस्पतालबाट सरुवा भई हेटौंडा आउनु भएको हो ।

डा. अर्याल यसअघि भक्तपुर अस्पतालमा पनि मेडिकल सुपरिटेन्डेन्ट कै रुपमा कार्यरत हुनु हुन्थ्यो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेशले अर्याललाई चैत १ गतदेखि लागू हुने गरी हेटौंडा अस्पतालमा सरुवा गरेको हो । उहाँलाई हेटौंडा अस्पतालमा कर्मचारीहरुले स्वागत गरेका छन् । सो अवसरमा डा. अर्यालले अस्पतालबाट प्रवाह हुने सेवा थप गुणस्तरीय बनाउने प्रतिबद्दता ब्यक्त गर्नुभएको छ । यसअघिका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाको काज भने संघमै फिर्ता भएको छ ।