आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । देशभरीका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गरेको छ ।
यस्तै, वसन्त पञ्चमीको अवसरमा मिथिलाञ्चलका किसानले हलो र गोरुको पूजा गर्दैछन् । आजका दिन तराई मधेश तथा सम्पूर्ण मिथिलाञ्चलभरका किसानका लागि पर्व र ठूलो मेलाको दिन मानिन्छ ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती शिक्षा, ज्ञान र सङ्गीतकी देवीको प्रतीक रहेको बताउनुभएको छ । वसन्तपञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा वसन्तपञ्चमीले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।