मकवानपुर । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशको रिक्त हुने ४ सिटका लागि भएको मतदानमा ५ जना मतदाता अनुपस्थित भएका छन् । हेटौंडा उपमहानगरपालिका–४, स्थित भुटनदेवी माविमा भएको निर्वाचनमा बागमती प्रदेशसभाका २ र स्थानीय तहका ३ गरी ५ जना मतदाता अनुपस्थित भएका हुन ।
निर्वाचनमा ११० सदस्यीय बागमती प्रदेश सभातर्फ १०८ जना प्रदेश सभाका सदस्यहरुले मतदान गर्नुभएको छ। स्थानीय तहका २३७ जना मतदातामा २३४ जनाले मतदान गर्नुभएको निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिनुभयो ।
निर्वाचनमा दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षको निधन भएकाले स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ मतदाता हुनुपर्नेमा २३७ मतदाता कायम थिए । २३७ मतदातामध्ये नुवाकोटको किस्पाङ गाउँपालिकाको अध्यक्ष बिरबल तामाङ प्रहरीको फरार सूचिमा रहेकाले अनुपस्थित हुनुभयो । उहाँ चेक अनादर मुद्दामा फरार हुनुहुन्छ ।
यसैगरी, काभ्रेको चौरीदेउराली गाँउपालिकाको उपाध्यक्ष शेरबहादुर लामा सिकिस्त बिरामी रहेकाले मतदानमा सहभागी हुनु भएन । भने, काठमाडौ महानगरपालिकाका मेयर बालेन शाह पनि मतदान गर्न हेटौंडा आउनुभएन । यस्तै बागमती प्रदेश सभातर्फ हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्राचार्य र सरिता खड्की अनुपस्थित रहनुभयो ।
बागमतीमा एमालेबाट रामचन्द्र राई र दिलकुमारी रावल, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको रिक्त पदमा निर्वाचन भएको हो । राई अपांगता÷अल्पसंख्यक, रावल महिला, विश्कर्मा दलित र देवकोटा अन्य समूहबाट निर्वाचित हुनु भएको थियो ।
बागमतीको रिक्त चार सिटका लागि ६ दलका १५ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । सत्ता गठबन्धन दलका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबातर्फबाट चार, नेकपा एमालेबाट चार, राप्रपाबाट तीन र नेपाल मजुदर किसान पार्टी बाट ४ गरी १५ जना उम्मेदवार हुनुहुन्छ ।
गठबन्धनमा कांग्रेसबाट अन्य क्लस्टरमा ललितपुरका जीतजंग बस्नेत, महिला क्लस्टरमा काठ्माडौंकी विष्णुदेवी पुडासैनी उम्मेदवार हुनुहुछ । माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्मा उम्मेदवार रहनु भएको छ ।
यस्तै नेकपा एमालेबाट अन्यमा काठ्माडौंका विवेक देवकोटा, महिला क्लस्टरमा दोलखाकी रोजकुमारी चौलागाईं, दलित क्लस्टरमा धादिङका ध्रुव विश्कर्मा र अपाङ्ग क्लस्टरमा चितवनका त्रिलोचन निर्मल पौडेल उम्मेदवार हुनुहुन्छ । राप्रपाको अन्य क्लस्टरमा काठ्माडौंका हेमजंग गुरुङ, महिला क्लस्टरमा मकवानपुरकी बालकुमारी डल्लाकोटी र अपाङ्ग क्लस्टरमा चितवनका भरतमणि भट्ट उम्मेदवार रहनुभएको छ । भने, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट अन्य क्लस्टरमा काठमाडौंका श्रीकृष्ण महर्जन, महिला क्लस्टरमा भक्तपुरकी कृष्णलक्ष्मी दुवाल र दलित क्लस्टरमा भक्तपुरकी संगीता नेपाली उम्मेदवार हुनु हुन्छ ।
निर्वाचनको नतिजा मतभारका आधारमा टंगो लाग्नेछ । मतदाता रहने प्रदेश सभा सदस्यको ५३ मतभार र स्थानीय तह प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षको मतभार १९ हुनेछ । मतदान सम्पन्न भएकाले मतगणनाको काम अगाडि बढाइएको निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिनुभयो । मतपरिणाम आजै आउने उहाँले बताउनुभयो ।