मनहरी । मकवानपुरको मनहरी गाउँपालिका बालमैत्री स्थानीय शासन अवलम्वनयुक्त देशकै पहिलो गाउँपालिका मनहरी गाउँपालिकाबाट बिहीबार तीनजना बालश्रमिकको उद्धार गरिएको छ । बिहीबार मनहरी गाउँपालिकाका विभिन्न क्षेत्रमा २० वटा होटल तथा वर्कसपमा अनुगमन गर्दा तीनजना बालश्रमिक लगाईएको पाईएको हो ।

श्रम तथा रोजगार कार्यालय, मनहरी गाउँपालिका र सिविन बाल हेल्पलाइन १०९८ को सक्रियतामा २० वटा व्यवसायमा बालश्रम प्रयोग भए नभएको सम्बन्धमा अनुगमन गरिएको हो । मनहरी–७, मनहरी बजार र मनहरी गाउँपालिकाको सदरमुकाम मनहरी–९, रजैया आसपासका १७ वटा होटल तथा ३ वटा वर्कसपमा अनुगमनका क्रममा तीनजना बालश्रमीकको उद्धार गरिएको छ ।
अनुगमन टोलीले मनहरी–७ स्थित मनहरी अटो सेन्टरबाट १७ वर्षिय एक बालक, गुरुङ्ग होटलबाट १६ वर्षिय बालक र चैनपुर रोड स्थित एभरेष्ट मःम होटलबाट १५ वर्षिय बालक गरी ३ बालकहरुको बालश्रम गरिरहेको अवस्थामा उद्धार गरिएको हो । अनुगमन टोलीले बालश्रममा लगाउने व्यवसाय सञ्चालकहरुलाई कारबाही प्रक्रिया समेत अगाडि बढाएको श्रम तथा रोजगार कार्यालय हेटौंडाका बालश्रम शाखाका फोकल पर्सन भिम शर्माले जानकारी दिनुभयो ।

सो क्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सिता पुलामी मगरले अघिल्ला अनुगमनको तुलनामा यसपटक बाल श्रमिक संख्या कम भएकोले सञ्चालकहरु सचेत रहेको पाइएको बताउनुभयो । उहाँले आगामी दिनमा अनुगमन जाँदा बालश्रम प्रयोग नभएको व्यवसायमा बालश्रम मुक्त व्यवसायको स्टीकरसमेत टाँस गर्ने योजना बनाउनुपर्ने बताउनुभयो । यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदीले मनहरी गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा भएता पनि यदाकदा बालश्रम भेटिराखेको हुँदा यो सवालमा सबै सरोकारवाला पक्षबाट निरन्तर काम गरि रहन आवश्यक भएको बताउनुभयो ।
अनुगमन टोलीमा मनहरी ५ का कार्यबाहक अध्यक्ष सन्जिता परियार, श्रम तथा रोजगार कार्यालय हेटौंडाका ना.सु. उपेन्द्र पोखरेल, मनहरी गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शिला अधिकारी, सिविन बाल हेल्पलाइनका प्रबन्धक झबिन्द्र ज्ञवाली र कार्यक्रम अधिकृत एवम् मनोविमर्शकर्ता सम्झना अधिकारी, बालअधिकार समिति सदस्य देवकी ढुंगाना, होटल एशोसियन मनहरीका अध्यक्ष कृष्णराम श्रेष्ठ, इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी सहायक निरीक्षक अनिल खड्कालगायतको उपस्थिति रहेको बाल हेल्प लाइन मकवानपुर प्रमुख ज्ञवालीले बताउनुभयो ।