हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा बिहीबार आँखादान सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा–९, स्थित पुष्पाञ्जली आमा गस्ती समुहको आयोजना एवम् नेपाल आँखा बैंक, नेपाल आँखादान समाज र हेटौंडा आँखा अस्पतालको सहयोग साथै सोलुशन नेपालको संयोजनमा कार्यक्रम भएको हो ।
कर्नियाका कारण दृष्टिविहीन हुन नपरोस् भन्ने अभियान स्वरुप नेपाल आँखादान समाजका निर्वतमान अध्यक्ष साधुराम महर्जनले अभिमुखिकरण गर्नु भएको थियो । कार्यक्रम पुष्पाञ्जलीका अध्यक्ष कल्पना थापा मगरको सभाध्यक्षता र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा सामुदायिक प्रहरी सामुदायिक सेवा केन्द्र मकवानपुरका उपाध्यक्ष केशव न्यौपाने, गैसस मकवानपुरका अध्यक्ष रमिला सापकोटा, सामुदायिक प्रहरीका सहायक हवल्दार लिला गुरोै , सुलोशन नेपालका गोमा शाह लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मानव शरीर मृत भए पनि शरीरका अंगहरु जिउदो मानिसलाई दान गर्न सकिने साथै जलनका बिरामीलाई छाला दान गर्न सकिने बिषयमा अभियान्ता सरस्वती महर्जनले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा मरणोपरान्त स्वईच्छाले आखाँदान गर्ने ईच्छुक ८ जनाले आँखादान फाराम समेत भरेका छन् ।