राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएकाहरूको मनोनयपत्र माथि आज (बुधबार) जाँच हुने भएको छ। साथै, उम्मेदवारविरुद्ध परेका उजुरी उपर पनि आज बुधबार नै जाँचबुझ गरी निर्णय गरिने आयोगले जनाएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सोमबार उम्मेदवारहरूको मनोनयन दर्ता गरेको थियो । यस्तै, मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार उजुरी आह्वान गरेको थियो । बुधबार हरेक उम्मेदवारको मनोनयन पत्रका साथै सो उपर कुनै उजुरी परे नपरेको जाँच गरेर निर्णय गरिने आयोगको कार्यतालिका छ ।
सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)का दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको छ । भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले अपाङ्गतासम्बन्धी प्रमाण नपुगेको तथा कर्णाली प्रदेशका माओवादी केन्द्रका उम्मेदवार विक विरुद्ध एमालेकै उम्मेदवार हिकमत विकले प्रतिनिधिसभा सदस्यको बन्द सूचीमा नाम भएको भन्दै उजुरी दिएका हुन् । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचन कार्यतालिका अन्तर्गत सोमबार ५२ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका थिए । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते प्रदान गर्नेछ । यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता रहने छन् ।