मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा भोली सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला हुने भएको छ । संघीयता कार्यान्वयनका सन्दर्भमा संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक बस्न लागेको हो । भोलीको बैठकका लागि मुख्यमन्त्रीहरु ह्ेटौंडा आईसक्नु भएको छ ।
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले संविधानमा व्यवस्था भएको प्रदेश र स्थानीय सरकारको अधिकार बाँडफाँडमा देखिएको समस्याका विषयमा छलफल गर्नुका साथै संविधान कार्यान्वयनका लागि आवश्यक सुझाव दिने उदेश्यका साथ गोष्टी आयोजना गरिएको जानकारी दिएको छ । सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागितामा हुने गोष्ठीमा तीनै तहका सरकारको साझा अधिकारको विस्तृतीकरण र कानुन निर्माण प्रक्रिया, बित्त÷आर्थिक विकास क्षेत्र, सेवा क्षेत्र, पूर्वाधार क्षेत्र र वन वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुतीसँगै छलफल हुने बताईएको छ ।
गत असार १५ र १६ गते पोखरामा भएको मुख्यमन्त्रीहरुको अन्तर प्रदेश बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको राष्ट्रिय समन्वय परिषदको बैठकमा भएका निर्णय कार्यान्वयनको समय गुज्रिन लाग्दा पनि संघले निर्णय कार्यान्वयनमा तदारुकता नदेखाएपछी मुख्यमन्त्रीहरु छलफलमा जुट्न लागेका हुन् । शुक्रवार हुने कार्यक्रममा सातै प्रदेशका प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघका पदाधिकारीहरूको सहभागिता रहने बताईएकोछ । मुख्यमन्त्री कार्यालयका अनुसार छलफलपछि शुक्रवार साझा प्रतिवेदनसमेत अनुमोदन गर्ने कार्यक्रम रहेको छ । यसअघि आज हेटौंडामा नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ र मुख्यमन्त्रीको कार्यालयको आयोजना तहगत सरकारका अधिकारका विषयमा छलफल कार्यक्रम भएको छ ।