काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कर्मचारी दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको ६८ जना कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो ।
सञ्चारमन्त्री शर्माले प्रधानमन्त्री कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचना सहित सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम स्वीकृत गर्ने निर्णय अनुसार हालको कर्मचारी दरबन्दी सङ्ख्या कम गर्ने निर्णय भएको जानकारी दिनुभयो । मन्त्री शर्माले कर्मचारी दरबन्दी कटौती गर्ने कार्यलाई अन्य कार्यालयहरूमा विस्तार गर्दै जाने समेत बताउनुभयो ।
यस्तै, मन्त्रीपरिषद् बैठकले २०८०/८१ को लागि गहुँको न्यूनतम मूल्य प्रति क्विन्टल तीन हजार छ सय ५० रुपैयाँ निर्धारण गर्ने, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदमा रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई नियुक्त गर्ने लगायतका निर्णय भएको मन्त्री शर्माले बताउनुभयो ।