हेटौंडा । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले राम्रा काम गर्न खोज्दा सबै तिरबाट घेरावन्दीमा पारेको बताउनु भएकाे छ । प्रेस सेन्टर मकवानपुरले हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारले सुशासनको सन्दर्भमा गरेको राम्रो कामलाइ असफल बनाउन घेराबन्दी भैरहेको बताउनुभयाे ।
उहाँले राम्रो कामलाइ सबै दलले सहयोग गर्नुपर्ने सस्कारको विकास जरुरी रहेको बताउनुभयाे । अहिलेको नयाँ शक्ति भनेको माओवादी रहेको दावि गर्नु हुँदै उपमहासचिव पुनले सरकारले शुसासनका विषयमा धेरै काम गरेको र अव पनि काम गरिने बताउनुभयाे ।
एमाले पनि २०५१ मा फुटेपछी पहिलो पार्टी बन्न १९ वर्ष लागेको बताउँदै पुनले माओवादी पनि त्यही लाइनमा रहेको बताउनु भएकाे छ । माओवादी नेतृत्वमा रहेको सरकारको काम कामकारबाही सन्तोष जनक नआएको रिपोर्ट कार्डहरु बाहिर आएको सन्दर्भमा उहाँले अब सरकारले स्पिड लिने विश्वास व्यक्त गर्नुभयाे । पहिलो चौमासिकमा सरकारको काम सुस्त देखिनु स्वभाविक रहेको बताउदै आगामी चौमासिकमा सरकारको स्पिड बढने उहाँको भनाइ थियो ।
सरकारले सोचेजस्तो खर्च गर्न नसकेको कुरा सहि रहेको बताउँदै पुनले खर्च गर्ने प्रणालीको पुनर्निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयाे । देश आर्थिक मन्दीमा गएको, श्रीलंका भएको भन्ने हल्ला गलत रहेको उहाँको भनाइ थियाे ।











