हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानवतानै सबैभन्दा ठुलो धर्म भएको बताउनु भएकाे छ । शनिबार हेटौँडामा मानव सेवा आश्रमको केन्द्रीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले मानवताको सेवा भन्दा ठुलो धर्म अरु कुनै नरहेको बताउनुभयाे ।
मानव सेवा आश्रमले गरेको काम नेपालको मात्र नभएर विश्व जगतमानै उदाहरणीय कार्य भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आश्रमलाई केन्द्र, प्रदेश र स्थानीय सरकारबाट भरपुर सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयाे । नेपालको संविधानमानै गाँस, बास, कपास, शिक्षा स्वास्थ्य, रोजगारी जस्ता अधिकारको ब्यवस्था भएको भन्दै यस्ताखाले अधिकारबाट कोहिपनि पनि बञ्चित हुन नहुने र मानवसेवा आश्रमले संविधानको ब्यवस्थालाई ब्यवहारिक रुपमा कार्यन्वयन गरेको बताउनुभयाे ।
हेटौँडाबाट सुरु भएको मानवसेवा आश्रमले देशैभरि सेवा विस्तारको काम सुरु गरिसकेको सुन्दा गौरवको अनुभुति भएको भन्दै उहाँले मानव सेवाको सारथिहरुलाई सरकारबाट पूर्ण साथ रहने बताउनुभयाे । जसरी मानवसेवाको लागि यहाँका अभियान्ताहरु महिहत्ते गरेर लागिपर्नु भएको छ त्यसरिनै सरकारले पनि आगामी दिनहरुमा सहयोगको शिलशिलालाई थप बढाउँदै लग्ने छ, उहाँले भन्नुभयाे । मन्दिर या अन्य धर्मिक केन्द्रमा भेटी चढाउनु भन्दा मानवताको लागि आश्रमलाई सहयोग गर्न प्रधानमन्त्री प्रचण्डले अनुरोध गर्नुभयाे ।
राम्रो काम गर्न खोज्दा कहिलेकाँही समाजबाट अनेक खालको भाष्य सुन्नुपर्ने भन्दै उहाँले भन्नुभयाे ‘गणतन्त्र प्राप्तीको आन्दोलन थोरै मान्छेबाट सुरु गर्दा कतिपयले मलाई बहुला पनि भने, तर हामी अहिले यहि गणतन्त्रमा उभिएर बोल्न पाएका छौँ, हामी सार्वभौम नेपाली भएका छौँ, यो भन्दा ठुलो कुरा के हुन्छ ?’ हामी बहुलाएका त थिएनौ नि , हाम्रो उदेश्यले वर्ष दिन पुग्दा नपुग्दै नतिजा त ल्यायो नि, अनि पो गणतन्त्र आएको हो ।’